August 24, 2017

सुनसरीमा हावाहुरी र असिना सहितको पानीले बालीनालीमा क्षति, विद्युत् सेवा अवरुद्ध

अमर काफ्ले
सुनसरी, २ वैशाख । एकाएम मौसममा आएको परिवर्तनका कारण पूर्वि तराईका जिल्लाहरुमा आज बिहानैबाट असिना सहितको पानी परेको छ ।

भारी वर्षा नभएपनि असिना पानीले सुनसरीमा तरकारी वाली र चिचिला लाग्न थालेका आँप लिच्ची सहित मकै र सूर्यमुखी बालीमा नोक्सान पुर्‍याएको छ ।

जिल्ला कृषि विकास कार्यालय सुनसरीले तत्काल क्षतिको अनुमान गर्न नसकेपनि मौषमी तथा बेमौषमी तरकारी खेतीका लागि पकड क्षेत्र मानिने सुनसरीमा असिना पानीले निकै ठूलो क्षति पुर्‍याएको अनुमान गरेको छ ।

कार्यालय प्रमुख राजकान्त झाले ३० प्रतिशत बढी तरकारी वालीमा नोक्सानी पुगेको प्रारम्भिक विवरण प्राप्त भएको जानकारी दिए । असिना पानीले जिल्लाको दक्षिणी भेगमा लगाइएका बालीमा बढी क्षति भएको र विवरण संकलन गर्ने कार्य भइरहेको कार्यालयले जनाएको छ ।

दिउँसो पख एकाएक पुनः मौसम बदली भई हावाहुरी चल्दा सुनसरीका धेरै स्थानमा रुख तथा बिजुलीका पोलहरु ढलेका छन् । रुढ ढल्दा अवरुद्ध सडक प्रहरीले खुलाएको छ भने पोल ढल्दा अधिकांश स्थानमा विद्युत सेवा अवरुद्ध भएको छ ।

विद्युत प्राधिकरण इनरुवाका अनुसार दक्षिण भेगमा बढी मात्रामा पोल ढलेका छन् । ढलेका पोलहरु मर्मत गरी सेवा सुचारु गर्न समय लाग्ने भएकाले आज सबै स्थानमा विद्युत सेवा उपलब्ध हुन नसक्ने विद्युत प्राधिकरण इनरुवाले जनाएको छ ।