July 24, 2017

सुदूरपश्चिममा वित्तीय जागरण सुरु, बैंकिङ कर्जाबाट उद्यमी बन्न गभर्नरको आग्रह

कैलाली,१४ फाल्गुन । सुदुर पश्चिम ‘वित्तीय जागरण राष्ट्रिय अभियान’ सुरु भएको छ । कैलाली जिल्लाको अत्तरीया नगरपालिकास्थित एक विद्यालयमा आयोजित एक सामारोहकाबीच नेपाल राष्ट्र बैंकका गभर्नर डा. चीरञ्जीवी नेपालले अभियानको उद्घाटन गरे ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर डा. नेपालले वित्तीय साक्षरता बढाउन आ–आफ्नो ठाउँबाट भूमिका खेल्न सबैलाई आग्रह गरे ।
सुदूरपश्चिमका विभिन्न जिल्लाका ग्रामिण इलाकामा बैंक तथा वित्तीय संस्थाको उपस्थिति अझै बलियो नरहेकोतर्फ इंगित गर्दै उनले भने, ‘तपाईहरु त्यस्ता ग्रामिण क्षेत्रमा जानुस्, त्यसो गर्दा वित्तीय साक्षरता पनि बढ्छ ।’
उनले वित्तीय साक्षरता अभियान पूरा मुलुककै अभियान भएको जिकिर गरे । छिमेकी भारतको उदाहरण दिँदै गभर्नर नेपालले यहाँ पनि बढीभन्दा बढी जनसंख्यालाई वित्तीय पहुँचमा ल्याउन सरकारले एक घर एक खाता योजना अघि सारेको बताए ।
कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंक धनगढीका निर्देशक विश्रुत थापाले वित्तीय साक्षरता बढाउनु अहिलेको अवश्यकता भएकाले वित्तीय जागरण अभियानको विशेष अर्थ हुने बताए । हाल सुदूरपश्चिममा २०३ वटा बैंक तथा वित्तीय संस्थाका शाखा रहेको जानकारी दिँदै उनले ती संस्थालाई वित्तीय साक्षरता बढाउने खालका कार्यक्रम संचालन गर्न सुझाव पनि दिए ।
नेपाल राष्ट्र बैंक नेपालगञ्ज शाखाका निर्देशक गुरु पौडेलले बैंक तथा वित्तीय संस्थासँग कारोबार फाइदा र सुरक्षा दुवै रहेको बताए ।