सीमानामा बुद्ध झण्डा

नरेश के.सी.
बेलहिया, माघ २८ । नेपाल भारत सीमा नाका बेलहियामा सबै घरहरुमा बुद्ध झण्डा राखिन थालेको छ । निलो, पहेँलो, रातो, सेतो र कलेजी रङयुक्त झण्डा शान्तिको प्रतीक मानिन्छ । शान्तिका अग्रदूत महामानव बुद्धको शरीरसँग तुलना गरी सांकेतिक रुपमा निर्माण गरिएको पञ्चरंगी झण्डाले शान्ति र सद्भाव कायम गर्न अह्म भूमिका खेल्ने इतिहासविद् विजय सागरले जनाए ।

सागरका अनुसार बुद्ध झण्डामा रहेको पञ्चरंगी मध्ये निलोले बुद्धको कपाल, पहेँलोले बुद्धको छाला, रातोले बुद्धको रगत, सेतोले बुद्धको दाँत र कलेजी रङले बुद्धको कलेजोको प्रतिबिम्ब दिने गर्दछ । बुद्धरुपी शान्ति झण्डा घरहरुमा राख्दा मनोवैज्ञानिक रुपमा पनि शान्तिको आभास हुने अभियन्ताहरुको दाबी छ ।

अभियन्ताहरुले भैरहवा मर्निङवाक ग्रुप मार्फत बुद्ध नगरी सिद्धार्थनगरका हरेक घरहरुमा शान्ति झण्डा राख्ने र भैरहवा क्षेत्रका सबै घरहरुको रङ पहेँलो र कलेजी बनाउने अभियान सुरुवात गरेका छन् ।

समाजका प्रबुद्ध वर्गहरुको सहभागितामा स्थापित भैरहवा मर्निङ वाक ग्रुपको उक्त अभियान सीमावर्ती नेपालतर्फको शहर बेलहिया नाकामा रहेका सबै घरहरुमा बुद्ध झण्डा राखिएर तिव्रता पारिएको हो ।

पैदल मार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्रिने नाका बेलहियामा रहेका घर, प्रतिष्ठान, कार्यालयमा शान्तिको प्रतीक बुद्ध झण्डा राख्न सुरु गरिएको बुद्ध झण्डा वितरण अभियान भैरहवा मर्निङ वाक गु्रपका अध्यक्ष सागरले जानकारी दिए ।

बेलहियामा शुक्रबार आयोजित बुद्ध झण्डा वितरण कार्यक्रमका प्रमुख अतिथि सिद्धार्थ एशोसिएसन अफ ट्राभल एण्ड टुर एजेन्ट (साट्टा) का संस्थापक अध्यक्ष विष्णु प्रसाद शर्माले नेपाल प्रवेशद्वार बेलहिया नाकाका सबै भवनमा बुद्ध झण्डा राखिने प्रतिबद्धता जनाए ।

सिद्धार्थ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष समेत रहेका बेलहिया निवासी शर्माले भने “महामानव बुद्धको झझल्को दिने शान्तिद्वार बेलहियामा बनाउन जरुरी छ । त्यो भविष्यको अभियान हो । तत्काल भैरहवा मर्निङ वाक ग्रुपले बुद्ध झण्डा वितरण अभियान चलाएको छ । यो अत्यन्तै सकारात्मक पक्ष हो ।”

सोही अवसरमा सिद्धार्थ उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष डा. शान्तकुमार शर्माले भने “बुद्ध जन्मस्थल लुम्बिनीको प्रवेशद्वार बेलहिया भैरहवाका घरहरुमा बुद्ध झण्डा राखिँदा एकातिर नगरको शोभा बढ्दछ भने अर्कोतिर बाह्य पर्यटकलाई बुद्ध नगरमा आएको महसुस हुनेछ ।”

समाजसेवी तथा बुद्ध झण्डा वितरण अभियन्ता ओमकार गौचनले पहिलो चरणमा भैरहवाबाट सुरु गरिएको झण्डा वितरण कार्यक्रम पश्चात नगरका सबै घरमा बुद्धरुपी पहेँलो कलरको प्रयोग गरिने जनाए ।

अभियान अनुसार नगरका सबै घरमा बुद्ध झण्डा राख्ने र घरहरुको दिवालमा पहेँलो र कलेजी रङ प्रयोग गर्ने गरी सिद्धार्थनगर नगरपालिकाको नगर परिषद्ले समेत कार्ययोजना बनाइसकेको छ ।

बेलहियामा आयोजित बुद्ध झण्डा वितरण कार्यक्रममा सिद्धार्थ होटल एशोसिएसनका अध्यक्ष सिपी श्रेष्ठ, बेलहिया गाउँ समाजका निवर्तमान अध्यक्ष सुरेन्द्र क्षेत्री, जेसीआई सिद्धार्थका अध्यक्ष सुमन शर्मा, नेपाल भारत मैत्री संघका अध्यक्ष श्रीचन गुप्ता, लगायतको आतिथ्यता रहेको थियो ।

यसैबीच बुद्ध झण्डा वितरण अभियानको क्रममा नेपालको बेलहिया स्थित अध्यागमन कार्यालयमा पनि बुद्ध झण्डा राखिएको छ । भारत हुँदै नेपाल प्रवेश गर्ने हरेक पर्यटकले अनुमति अथवा राहदानीमा स्वीकृति लिनुपर्ने उक्त कार्यालयमा राखिएको बुद्ध झण्डाले लुम्बिनीलाई चिनाउन महत्वपूर्ण भूमिका खेल्ने अभियन्ताहरुले दावी गरेका छन् ।