October 18, 2017

सीमांकन सहितकाे संशोधन मधेसी माेर्चाकाे बटमलाइन

काठमाण्डौ, १३ चैत्र । मधेसी मोर्चाले सीमांकनसहित संविधान संशोधन विधेयक पारित गर्दै धारा २७४ समेत संशोधन हुनुपर्ने ‘बटमलाइन’ प्रस्तुत गरेको छ ।

मोर्चाका शीर्ष नेताहरूले सीमांकनबिनाको सरकारी कार्यदलले ल्याउने प्रस्तावमा कुनै प्रकारको छलफल र परामर्श हुनै नसक्ने जिकिर पनि गरेका छन् ।

सीमांकनबिनाको संविधान संशोधनमा सहमत हुन नसक्ने बताउँदै उनीहरूले सत्ता पक्षको दाबीमा कुनै सत्यता नभएको दाबी गरे । पहिलो मधेस आन्दोलन, गत नौ महिनासम्म भएको आन्दोलन र त्यसको निरन्तरताको उद्देश्य नै सीमांकन रहेको दाबी उनीहरूले गरेका छन् । साउन १९ गते माओवादी केन्द्र र कांग्रेससँग भएको तीनबुँदे सहिमतिमै स्पष्ट रूपमा उल्लेख गरिएको सीमांकनबारे सरकारले गलत प्रचार गरेको उनीहरूको भनाइ छ ।

– स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण ढंगले विरोध गर्ने र निर्वाचन हुन नदिने – महन्थ ठाकुर, अध्यक्ष, तमलोपा

– मधेस आन्दोनलको जग नै सीमांकन रहेकाले सीमांकनबिना संविधान संशोधन हुन सक्दैन । – राजेन्द्र श्रेष्ठ, सहअध्यक्ष, संघीय समाजवादी फोरम नेपाल

– सम्झौताका नाममा आन्दोलन तुहाउन, रोक्न र कमजोर गर्न तीन दलले गरेको नयाँ प्रस्ताव मधेस र मधेसीविरुद्ध छ । – राजेन्द्र महतो, अध्यक्ष, सद्भावना पार्टी

– संशोधनमार्फत समाधान गर्ने हो भने कुनै पनि विषयलाई थाती राख्नु हुँदैन । – महेन्द्र यादव, अध्यक्ष, तराई मधेस सद्भावना पार्टी

तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले संसद्मा प्रस्तावित सीमांकनलगायत विधेयक परिमार्जनसहित पारित गर्नुका साथै धारा २७४ लाई पनि संशोधन गर्नुपर्ने बताए । उनले भने, ‘स्थानीय तहको निर्वाचन शान्तिपूर्ण ढंगले विरोध गर्ने र निर्वाचन हुन नदिने मोर्चाको स्पष्ट अडान छ । सरकारले जबर्जस्ती निर्वाचन गराए पनि त्यो मान्य हुँदैन । मोर्चा निर्वचनको पक्षमा हुन सक्दैन ।’ दलको मान्यताका लागि तीन प्रतिशतको थ्रेसहोल्ड मान्य नहुने उल्लेख गर्दै उनले संसद देखि सडकसम्म यसको विरोध गर्ने बताए । यो खबरआजको अन्नपूर्ण पोस्टमा छ ।