November 17, 2017

सिल्क रोड अभियानमा सहमति जनाउन नेपाललाई चीनको प्रस्ताव

काठमाण्डौ, १७ फाल्गुन । क्षेत्रीय समृद्धिका लागि अगाडि बढाइएको सिल्क रोड अभियानमा सहमति जनाउन नेपालसँग चीनले आग्रह गरेको छ ।

नेपाल–चीन च्याम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीको १४औँ वार्षिक साधारणसभामा चिनियाँ पक्षले आज क्षेत्रीय सञ्जाल (रिजनल कनेक्टेभिटी) तथा सिल्क रोडमा सहमतिका लागि प्रस्ताव गरेको हो ।

चीनले अगाडि बढाएको सिल्क रोड अभियानमा सय मुलुकले चासो व्यक्त गरेको र ४० वटा मुलुकले समझदारीपत्रमा हस्ताक्षर गरिसकेको जनाइएको छ । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले भूराजनीतिक संवेदनशीलतालाई ध्यानमा राखेर नेपालले चीनसँगको व्यापारलाई विस्तार गर्ने बताए ।

उनले चीनको व्यापार वृद्धि गर्न नेपालले थप निर्णय गर्ने विश्वास दिलाउन चाहेको बताए । पछिल्लो समयमा आर्थिक सूचक सबल बन्दै गएको उल्लेख गर्दै अर्थमन्त्री महराले मुलुकको व्यापार घाटालाई कम गर्न निर्यात बढाउनुपर्ने बताए । उनले नेपालको पूर्वाधार विकासमा निरन्तर सघाउँदै आएको चीनले आगामी दिनमा थप सहयोग गर्ने आशा व्यक्त गरे ।

नेपाल–चीन च्याम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका अध्यक्ष राजेशकाजी श्रेष्ठले सन् १९९९ मा स्थापना गरिएको चेम्बरले चीनका २९ वटा चेम्बरसँग द्विपक्षीय सम्झौता गरेको र व्यापारिक प्रवद्र्धनका लागि लागिपरेको बताए ।