October 20, 2017

अमेरिकी अाक्रमणमा सिरियामा २० प्रतिशत चालु अवस्थाका विमान नष्ट

काठमाण्डौ,२९ चैत्र । संयुक्त राज्य अमेरिकाले रासायनिक अस्त्र हमलाको प्रतिक्रिया स्वरुप अघिल्लो हप्ता गरेको क्षेप्यास्त्र हमलामा सिरियाका २० प्रतिशत चालु अवस्थाका विमानमा क्षति पुगेको जनाएको छ ।

अमेरिकी रक्षा मन्त्री जेम्स म्याटिसले सिरियाली सरकारले शेरात हवाई अखडामा रहेका विमानहरुमा इन्धन भर्ने र हतियार सुसज्जित गर्ने क्षमता गुमाएको बताए । ह्वाइट हाउसका प्रवक्ता सन स्पाइसरले आगामी दिनमा सिरियाली सरकारले गर्ने कुनै पनि रासायनिक अस्त्र वा व्यारल बमको प्रयोग विरुद्ध अमेरिकी सैनिकले प्रतिकार गर्ने संकेत गरे ।

रासायनिक अस्त्र प्रयोगको विरोधमा सिरियाको हवाई अखडालाई निशाना बनाउँदै बिहीबार अमेरिकाले ५९  क्रुज क्षेप्यास्त्र प्रहार गरेको थियो । अमेरिकी रक्षा मन्त्री जेम्स म्याटिसले सो हमलाले सिरियाको हवाई क्षमतामा उल्लेख्य क्षति पुर्याएको र झण्डै २० प्रतिशत चालु अवस्थाका विमान नष्ट पारेको जनाए ।

उनले सिरियाले पुन : रासायनिक अस्त्र प्रयोग गर्नु घातक हुने चेतावनी पनि दिएको छ । इडलिब प्रान्तको एउटा विद्रोही नियन्त्रित नगरमा भएको  रासायनिक अस्त्र हमलामा ८९ जना मारिएका थिए ।