सिरहामा सिमा पार गर्ने पाँच जना श‌ंकास्पद पक्राउ

जागेश्वर यादव / लहान, ३१ भदौ  । निर्वाचनको मौन अवधिमा शंकास्पद अवस्थामा प्रहरीले सिरहाको सिमावर्ती गाउपालिकाबाट पाँच जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा एक जना नेपाली र चार जना भारतीय नागरिक रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । सिरहाका प्रहरी उपरीक्षक शेखर कोइरालाका अनुसार निर्वाचनको कारण बोर्डर सिल भएको बेला लुकीछिपी नेपाल प्रवेश गरेकाहरुलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो ।
भारतको मधुवनी जिल्ला घर भएको राजेश कुमार यादव, अजय कामत, सुर्य नारायण यादव, राजकुमार यादव र नेपालको भगवानपुर गाउपालिका ५ बस्ने सुरज यादवलार्इृ प्रहरीले पक्राउ गरेकाे हो ।

पक्राउ परेकाहरु मध्ये अजय कामतको साथबाट धारिलो छुरा बरामद भएको र थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक कोइरालाले बताए ।
यसैगरी, मतदाना केन्द्रमा खटिएका कर्मचारीलाई कुटपिट गरेको भन्दै इलाका प्रहरी कार्यालय धनगढीले दुई जनालाई पक्राउ गरेको छ ।

मतदाता परिचयपत्र बाड्नेक्रममा भएको सामान्य विवादलाई लिएर कर्मचारी मतदान केन्द्र बाहिर निस्केको बेला कुटपिट गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरुमा धनगढीमाई नगरपालिका १ बस्ने दिनेशकुमार महतो र वडा नम्बर २ बस्ने रामशरण चौधरीलाई  रहेकाे प्रहरीले बताएकाे छ ।