June 27, 2017

सिराहामा मतदाता शिक्षाको काम सुरु

दिनेश शर्मा / राजविराज, ७ वैशाख । वैशाख ३१ को स्थानिय निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय सिराहाले मतदाता शिक्षाको काम सुरु गरेको छ ।

निर्वाचनको मिति नजिकिदै गएपछि अन्य नियमित प्रक्रियासँगै मतदाता शिक्षाको काम पनि अघि बढाईएको हो । मधेशवादी दलहरुसँग राजनीतिक सहमति नहुँदा निर्धारित बैशाख ३१ मै स्थानिय निर्वाचन हुने / नहुने आशंका छ ।

तर, कार्यालयले भने जिल्लामा २ सय १९ मतदान केन्द्र सिफारिस गरी हरेक मतदान केन्द्रमा १/१ जना मतदाता शिक्षा स्वयमसेवक परिचालन गरेको हो । निर्वाचनमा मतपत्र बदर हुने संख्यामा कमी ल्याउन तथा स्थानिय तह निर्वाचनको महत्व, गठन प्रक्रिया, उम्मेदवारी दर्ता, मतदान विधि तथा मतपत्र पट्याउने र मतपेटिकामा खसाल्ने विधि लगायतका बारेमा जानकारी दिईने जिल्ला निर्वाचन कार्यालय सिरहाकी प्रमुख ईन्द्रा यादवले बताईन् ।

यसैगरी, जिल्लामा खटिएका मुख्य निर्वाचन अधिकृतसहित निर्वाचन अधिकृतहरुको कार्यालय केही आन्तरिक तयारीका कारण स्थापना हुन नसकेको जानकारी दिँदै वैशाख १२ गतेभित्र निर्वाचन अधिकृतहरुको कार्यालय स्थापना गरिसक्ने पनि प्रमुख यादवले जानकारी दिईन् ।

७ नगरपालिका र १० वटा गाउँपालिका गरि १७ वटा स्थानिय तह कायम गरिएको सिराहामा १ लाख ७५ हजार १ सय ८४ पुरुष, १ लाख ५६ हजार ४ सय ११ महिला र १ तेश्रो लिङ्गि गरी कुल ३ लाख ३१ हजार ५ सय ९६ मतदाता छन् ।