October 22, 2017

सिमाङ्कनको विषय आयोग मार्फत हल गरौ : सरतसिँह भण्डारी

दिनेश शर्मा /राजविराज, २९ चैत्र । राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष सरतसिंह भण्डारीले शक्तिशाली आयोगको गठन गरेर सिमाङ्कनको विषय हल गर्दा समस्या सुल्झिने बताएका छन ।
मंगलवार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा भण्डारीले भने – ‘स्थानीय तहका जनप्रतिनिधिले राष्ट्रिय सभामा मतदान गर्न पाउने प्रावधानलाई संविधान संशोधनमार्फत हटाउनु पर्ने पर्छ ।’ भण्डारीले साँच्चिकै मुलुकमा निर्वाचन चाहेको हो भने संविधान संशोधनमा एमाले लगायतका पार्टीले पनि सहमति जनाउनुको विकल्प नरहेको वताए । संविधान संशोधनको विरोध र जसरी पनि निर्वाचन हुनै पर्ने एमालेको अडानले उसको दोधारे चरित्र प्रर्दन भएको आरोप पनि लगाए ।
९० प्रतिशतले वनाएको संविधान कुनै पनि हालतमा संशोधन नहुने अडान अहिले स्खलन हुन थालेको बताउँदै नेता भण्डारीले सत्तरी प्रतिशत सांसद मधेशको माग संवोधनका लागि संविधान संशोधनको पक्षमा रहेको दावी गरे । आफुहरु राजनीतिक निकासका लागि लचकता अपनाउन तयार रहेको भन्दै उनले हठ नत्याग्दा हुन सक्ने दुर्घटनाको जिम्मेवारी ठुला दलले लिनुपर्ने जिकिर गरे ।
खास समुदायलाई मात्र मधेशी मान्ने सोच पनि मुलुकका लागि दुर्भाग्यपुर्ण हुँदै गएको भन्दै भण्डारीले त्यो सोच परित्याग गर्नु आवश्यक रहेको सुझाए । मधेशमा वसोवास गर्ने ५१ प्रतिशत मध्ये पहाडि, मधेशी, थारु र मुस्लिम समुदाय सवैको अधिकार सुनिश्चित हुने संघियता आवश्यक रहेको उनको भनाई छ ।