June 24, 2017

सिमांकन बाहेक संविधान संशोधन प्रस्ताव पारित गराउन सहमति भएकाे पर्यटनमन्त्रीकाे खुलासा

काठमाडौं, २७ फाल्गुन । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री दिलनाथ गिरीले संविधान संशोधनका विषयहरु नागरिकता, भाषा, र राष्ट्रिय सभामा प्रतिनिधित्वको विषयलाई दुई तिहाईले पारित गर्ने सहमतिका साथ आफूहरु सरकारमा गएको स्पष्ट पारेका छन्।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री गिरीले भने,‘अहिले तीन वटा विषयमा मात्रै हाम्रो सहमति छ, यी तीन वटा विषयहरुलाई दुई तिहाईले पारित गरिनेछ ।

‘तर प्रदेशको सिमांकनको विषय भने स्थानीय तहको निर्वाचनपछि मात्रै टुँगो लगाउने सहमति भएको छ, यही सहमति अनुसार हामी सरकारमा गएका हौं ।’ मन्त्री गिरीले भने ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा मन्त्री गिरीले संविधान कार्यान्वयन गर्न विभिन्न जटिलताहरु रहेको बताउँदै उक्त जटिलताहरु पार गर्दै अघि बढ्न वर्तमान सरकार सक्षम रहेको जिकिर गरे ।

उनले भने,‘संविधान कार्यान्वयन गर्नको लागि हामी सबै जिम्मेवार बन्नुपर्छ, हामी सरकारमा जानुको प्रमुख दुई प्रतिबद्धताहरु छन्, पहिलो चुनावको सुनिश्चितता गर्ने र दोस्रो संविधान कार्यान्वयन गर्ने हो ।’

उनले सिमांकनको विषय पनि चुनावपछि हल गर्ने गरी अघि बढ्नुपर्नेमा आफूहरु प्रष्ट रहेको बताए । उनले निर्धारित मिति वैशाख ३१ गते नै स्थानीय तहको निर्वाचन हुने ठोकुवा गरे ।

उनले भने, ‘हामीलाई सरकारमा आउनको लागि बारम्बार आग्रह गरिएको थियो, कसरी अघि बढ्ने भन्ने बारेमा एउटा समझदारी भयो, त्यही अनुसार हामी सरकारमा गएका छौं, अब चुनाव हुँदैन कि भनेर कसैलेपनि आशंका गर्नुहुँदैन, हाम्रो उपस्थितिले पनि चुनावको सुनिश्चितता गरिसकेको छ ।’

उनले मुलुकमा कसैलाई पनि निषेध गर्न नहुने धारणा राख्दै मधेशी मोर्चाको पनि माग पूरा गराउन सबै गम्भिर बन्नुपर्ने धारणा राखे । त्यस्तै उनले आफूहरु मुलुकमा हिन्दूराष्ट्र पूर्नस्थापना गराउने अभियानमा लागेको समेत जिकिर गरे ।

मन्त्री गिरीले भने, ‘९४ प्रतिशत हिन्दू रहेको देशमा हामी जसरी पनि हिन्दूराष्ट्र बनाएरै छाड्छौं, हाम्रो सम्पूर्ण तनमन यतातिर छ ।’

त्यस्तै उनले पर्यटन मन्त्रालयमा धेरै चूनौतिहरु रहेको स्विकार गर्दै आगामी दिनमा सबै खाले चूनौतिहरुलाई सामाना गर्दै आफू अघि बढ्न सक्षम रहेको जिकिर गरे ।

उनले नेपाल एयरलाईन्सलाई युरोप, अमेरिकासम्म पुर्‍याउने उद्घोष समेत गरे।उनले भने,‘हिजो आर.एले युरोपसम्मको उडान भर्दथ्यो, तर हामी आज हेरौं हाम्रो अवस्था, त्यसैले मेरो प्रतिबद्धता छ, म मेरै कार्यकालमा युरोप र अमेरिकासम्म आर.एको सेवा सुचारु गर्छु, यसमा मलाई सबैको साथ र सहयोग चाहिन्छ, सपना नदेखी केही पनि गर्न सकिँदैन ।’

त्यस्तै उनले आफ्नो कार्यकालमा कसरी पर्यटकको संख्या बढाउन सकिन्छ भनेर आफूहरुले विशेष रुपमा काम गर्ने समेत प्रतिबद्धता जनाए ।

उनले भने, ‘अहिले नै यति संख्या वा उति लाख भनेर भन्नु भन्दा पनि मेरो पूर्ण प्रतिबद्धता कसरी पर्यटकहरु बढाउन सकिन्छ भन्ने नै हो।’ उनले नेपालको कला, संस्कृति, सभ्यता, पर्यटनलाई कसरी संरक्षण एवम् प्रर्वद्धन गर्न सकिन्छ भनेर आफू गम्भिर रहेको बताउँदै सोही अनुसार काम गर्ने समेत विश्वास दिलाए ।