सिफारिसमा परेका राजदूतहरु सर्वसम्मत अनुमोदित

काठमाण्डौ, ९ चैत्र । संसदीय सुनुवाई विशेष समितिले विभिन्न १२ देशका लागि सिफारिसमा परेका राजदूतहरुलाई सर्वसम्मत अनुमोदन गरेको छ ।

सिंहदरबारमा बुधबार बसेको समिति बैठकले म्यान्मारका लागी भीम उदास , बंगलादेशका लागी डा. चोपलाल भुसाल , श्रीलंकाका लागी प्रा. डा. विश्वम्भर प्याकुरेल , अर्जुनजङ्गबहादुर सिंहलाई दक्षिण कोरिया र रमेशप्रसाद कोइरालालाई कतारका लागि अनुमोदित भएका छन् ।

त्यस्तै लक्की शेर्पा अस्ट्रेलिया , युवनाथ लम्साल डेनमार्क, प्रा. डा. महेन्द्रप्रसाद सिंह राजपुत साउदी अरेयिबा , पदम सुन्दास बहराइनका लागी अनुमोदित भएका छन् भने प्रतिभा राणा जापान , निरञ्जन थापा इजरायल र शर्मिला पराजुली ढकाल ओमनका लागी अनुमोदित भएका छन् ।

मन्त्रिपरिषद्ले सुरुमा १४ देशका लागि राजदूत सिफारिस गरे पनि विवादका कारण स्पेन र युएईका लागि प्रस्तावित राजदूतको नाम फिर्ता भएको थियो ।

दूतावास नै नभएको स्पेनमा भरत रायमाझी र युएईका लागि आशा लामाको नाम सिफारिस भएको थियो ।

बैठकमा बंगलादेशका लागी डा. चोपलाल भुसाल र श्रीलंकाका लागी प्रा. डा. विश्वम्भर प्याकुरेलले नेपाली राष्ट्रियतालाई प्रमुखतामा राखेर काम गर्ने बताए ।

१२ देशका लागि सिफारिस गरेकामध्ये तीन प्रस्तावित राजदूतमाथि चार उजुरी संसदीय सुनुवाइ समितिमा परेका थिए ।

उजुरी परेका राजदूतहरुमाथि सुनुवाइ सकेर समितिले उनीहरुको सिफारिस अनुमोदन गरेको हो ।