October 23, 2017

सिके राउत पाँचौ पटक थुनामा

दिनेश शर्मा/ राजविराज, ११ चैत्र । करिब दुई महिनाअघि प्रहरीद्वारा पक्राउ गरिएका स्वतन्त्र मधेस गठबन्धनका संयोजक चन्द्रकान्त राउत (सीके राउत) लाई सिरहा जिल्ला अदालतले शुक्रबार पाँचौ पटक थप १० दिन थुनामा राख्न आदेश दिएको छ ।

राज्य विरुद्ध संगठित अपराध मुद्दामा उनलाई गत माघ २० गते जनकपुरबाट प्रहरीले पक्राउ गरेको थियो । माघ ५ गते सिराहाको लाहानमा आयोजित सभामा उनले देश टुक्र्याउने अभिव्यक्ति दिएको प्रहरीको आरोप छ ।

पक्राउपछि माघ २१ गते राउतलाई जिल्ला अदालतमा पेश गरेको प्रहरीले पहिलो पटक १० दिनसम्म थुनामा राख्ने आदेश पाएको थियो ।

यस्तै, दोस्रो पटक फागुन १ मा १० दिन, तेस्रो पटक फागुन ११ मा १० दिन, चौथो पटक फागुन २१ मा २० दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको थियो ।

पाँचौ पटक बिहीवार थप १० दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी शेखर कोइरालाले जानकारी दिए । अदालतबाट पाएको पाँचौ म्याद अन्तिम भएकाले १० दिन भित्रै सुनुवाईका लागि मुद्दा पेश गरिने उनले बताए ।

राज्यविरुद्धको अपराध र सजाय ऐन २०४६ मा कसैले नेपालको सार्वभौमसत्ता, अखण्डता वा राष्ट्रिय एकतामा खलल पार्ने नियतले कुनै काम गरेमा वा सो गर्ने उद्योग गरेमा जन्मकैद हुने व्यवस्था छ ।