October 24, 2017

सासु बुहारीको हत्या गर्ने अभियुक्त पेस्तोल सहित पक्राउ

उद्धव घिमिरे
विराटनगर , १८ चैत्र । दुई साता अघि मोरङ साविक कटहरी गाविस –१ आदर्श टोलका सासु–बुहारी दुई जनाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङले पत्रकार सम्मेलन गरी विराटनगर उपमहानगरपालिका – १२ का २६ वर्षीय बिष्णुकुमार डागालाई सार्वजनिक गरेको हो ।

उनी गएको चैत ४ गते दिउँसो करिब ३ बजे ईन्द्रचन डागाको घरमा उनकी श्रीमती ४४ की दिपा निरौला डागा र नीजकै बुहारी २२ वर्षीया अस्मिता भट्टराई डागाको गोली हानेर हत्या गरेको अभियोगमा पक्राउ परेका हुन् ।

 

प्रहरीका अनुसार घटना घटेपछि क्षेत्रीय अनुसन्धान समुह र जिल्ला प्रहरी कार्यालय मोरङको संयुक्त टोलीले अनुसन्धान गर्ने क्रममा गएको चैत १७ गते विष्णुकुमार डागालाई उनको आफ्नै घरबाट पक्राउ गरेको हो ।

पत्रकार सम्मेलनमा मोरङका प्रहरी उपरिक्षक सन्दीप भण्डारीले पक्राउ परेका डागाले सोधपुछका क्रममा घटना घटाएको स्विकार गरेपछि उनको घर खानतलासी गर्दा घटनामा प्रयोग गरिएको मेड इन यूएसए लेखिएको म्यागजिन सहित ७.६५ एमएमको पेस्तोल एक थान भेटिएको थियो ।

साथै मृतक अस्मिता भट्टराई डागाले प्रयोग गर्ने सामासुङ ग्यालेक्सि ए ५ मोवाइल एक थान र मृतक दिपा निरौला डागाले प्रयोग गर्ने एचटिसी मोवाइल एक थान बरामद गरिएको भण्डारीले जानकारी दिएका छन् ।

 

प्रहरी उपरिक्षक भण्डारीले डागाले सासु बुहारीको हत्या किन गरेको भनेर खुलिनसकेको बताए । प्रहरीले घटनास्थलबाट गोलिको खोका ३ थान , फायर भएको बुलेट १ थान , नगद २ लाख ८४ हजार २ सय ४५ रूपैयाँ बरामद गरेको थियो ।

पक्राउ परेका विष्णुकुमारलाई शुक्रबारै जिल्ला सरकारी वकिल कार्यालयमा कर्तव्य ज्यान मुद्दा अन्तर्गत म्याद लिएर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको जनाइएको छ ।