सार्वजनिक र निजी साझेदारीको भूमिकाबारे योजना आयोगको जोड

काठमाण्डौ, १ चैत्र । राष्ट्रिय योजना आयोगले सङ्घीयता लागू भएपछि विकास निर्माणका योजनालाई समन्वयात्मक रुपमा अगाडि बढाउन सार्वजनिक र निजी साझेदारीको नीतिलाई प्रभावकारी रुपमा लागू गर्नुपर्नेमा जोड दिएको छ ।

राष्ट्रिय योजना आयोगले मंगलबार काठमाण्डौमा गरेको साझेदारी सम्बन्धी नीतिबारे छलफलका सहभागीले निजी क्षेत्रको उद्यमशीलता र सीपलाई प्रयोग गरेर मुलुकको विकास गर्न सार्वजनिक र निजी साझेदारीको नीति कार्यान्वनको आवश्यकता औँल्याएका हुन् ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले चालु आ.व. देखि लागू भएको चौधौँ त्रिवर्षीय योजनामा पनि निजी क्षेत्रको भूमिकालाई विशेष प्राथमिकता दिइएको बताए ।

त्यसका लागि पनि सार्वजनिक साझेदारी विकासको मोडललाई कार्यान्वयनमा ल्याउनुपर्ने उनले बताए । निजी क्षेत्र विस्तार नभएसम्म विदेशी लगानीका लागि विश्वासिलो वातावरण नबन्ने उपाध्यक्ष श्रेष्ठको भनाइ छ ।

चौधौँ योजनाले ७ प्रतिशत भन्दा बढीको आर्थिक वृद्धि गर्न झन्डै रु २५ खर्बको लगानी आवश्यक हुने उल्लेख गरेको छ । उक्त लगानीमध्ये राज्यले ३९ प्रतिशत र बाँकी ६१ प्रतिशत निजी क्षेत्रबाट हुने अपेक्षा गरिएको राष्ट्रिय योजना आयोगले जनाएको छ ।