सार्वजनिक खरिद नियमावली सच्याउन माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र

चैत्र,२२ भक्तपुर । निर्माण व्यवसायी संघ भक्तपुरले सरकारले सार्वजनिक खरिद नियमावली, २०६४ मा गरेको पाँचौँ संशोधन सच्याउन माग गर्दै आज प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।

सघका अध्यक्ष निरञ्जन बजगाईंको नेतृत्वमा गएको निर्माण व्यवसायीको टोलीले प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल मार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्र बुझाउनु अघि संघको कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष बजगाईंले सरकारले गत पुस ९ गते सार्वजनिक खरिद नियमावली, २०६४ मा चौथो संशोधन भएको तीन महिना पनि नबित्दै फागुन २६ गते पुनः पाँचौँ संशोधन गरेको भन्दै आपत्ति जनाए।

सरकारले निर्माण व्यवसायीको छाता संगठन निर्माण व्यवसायी महासघलाई समेत बेवास्ता गरी गरेको संशोधनले निर्माण व्यवसायीको रोजीरोटी खोस्ने काम भएको उनको आरोप छ ।

निर्माण कार्य गराउँदा रु ६० लाखसम्मको काम उपभोक्ता वा समुदायबाट गराउन सकिने र त्योभन्दा माथि बोलपत्र आह्वान गर्नुपर्ने नियमलाई संशोधन गरी उपभोक्ताले एक करोड सम्मको काम गर्न सक्ने व्यवस्था गरेकोमा संघको आपत्ति रहेको छ ।

संघले पुरानै व्यवस्था ६० लाखसम्मको निर्माण कार्य मात्रै उपभोक्ताले गर्न पाउने व्यवस्थालाई कायम गर्दै वृद्धि गरेको एक करोडसम्मको व्यवस्था खारेज गर्न माग गरेको छ ।