साना विमानस्थलकाे निर्माण कार्य अघि बढाइने : पर्यटनमन्त्री

काठमाण्डौ १९ चैत्र । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले साना विमानस्थल निर्माणको कार्य अघि बढाउने बताएका छन ।

तीनजुरे गुफा पाथिभरा पदयात्रा महोत्सवका बिषयमा ताप्लेजुङ सरोकार समाजले सोमबार काठमाडौमा गरेको अन्तर्क्रिया कार्यक्रममा उनले साना प्लेन र हेलिकप्टर ल्याण्ड गर्नका लागी साना विमानस्थलको निर्माणको कार्य अघि बढाउने बताए ।

अहिले भएका विमानस्थलको व्यस्ततालाई कम गर्नका लागी पर्यटकिय लगाएत महत्वपूर्ण स्थानमा साना विमानस्थल बनाउन अनिवार्य भईसकेको उनको भनाई छ ।

विमानस्थल सुधारका लागी आफुले कार्ययोजना नै सार्वजनिक गरिसकेको भन्दै यसले पर्यटन क्षेत्रलाई विकास गर्ने उनले दाबी गरे ।  नेपालको हवाई यातायात व्यवस्थित बनाउनका लागि भइरहेका प्रयासबारे जानकारी दिदै मन्त्री अधिकारीले गौतम वुद्ध अन्तराष्ट्रिय विमानस्थल सन् २०१९ भित्रमा संचालनमा ल्याउने , निजगढ बिमानस्थलको निर्माण कार्यलाई तिब्रताका साथ अघि बढाईने धारणा राख्नुभयो ।

कार्यक्रममा एमाले सांसद योगेश भट्टराईले जोखिमपूर्ण हिमतालको अध्ययन गर्नका लागी विश्वको अग्लो स्थानमा रिर्सच सेन्टर स्थापना गर्न लागिएको भन्दै यसका लागी १० करोड रुपैया बजेट छुट्टाईएको जानकारी दिए ।

पर्यटन प्रबद्धन गर्ने उद्देश्यले आउदो २६ चैत्र देखि ३ बैशाख सम्म काठमाण्डौ देखि तीनजुरे मिल्के पाथीभरा पदयात्रा महोत्सव शुरु गरिने सरोकार समाजले जनाएको छ ।