August 19, 2017

साताव्यापी भ्रमण पूरा गरी प्रधानमन्त्री दाहाल स्वदेश फिर्ता

काठमाण्डौ, १६ चैत्र । चीनको साताव्यापी भ्रमण पुरा गरी प्रधानमन्त्री पुष्पकमल दाहाल बुधबार स्वदेश फर्किएका छन् ।

प्रधानमन्त्री दाहाल बुधबार मध्यान्ह एयर चाईनाबाट स्वदेश फर्किएका हुन् । स्वदेश फर्के लगत्तै प्रधानमन्त्री दाहालले त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गर्दै आफ्नो चीन भ्रमण सफल भएको बताए ।

अर्काे प्रसंगमा उनले  संविधान संशोधनका सबै विषयमा अधिकतम सहमति खोजिने भन्दै सहमति हुन नसकेको बिषयलाई पछि टुङ्ग्याउने उल्लेख गरे ।

संसोधनका बिषयका सहमति खोज्न गठित सरकार र मोर्चा सम्मिलित कार्यदलका सुझावलाई पनि मनन गर्दै अघि बढ्ने उनको भनाइ छ ।प्रधानमन्त्री दाहालले तोकिएको समयमा नै स्थानीय निकायको निर्वाचन हुने भन्दै कुनै आशंका नगर्न समेत आग्रह गरे ।

प्रधानमन्त्री दाहाल डा. प्रकाश शरण महतसहित १२ सदस्यीय टोलीको नेतृत्व गर्दै चैत्र १० गते चीनको गोन्जाओ प्रस्थान गरेका थिए । चीन भ्रमणका क्रममा प्रधानमन्त्री दाहालको चिनियाँ राष्ट्रपति सी जिनपिङ लगायत चिनियाँ उच्च नेतासँग महत्वपुर्ण भेटवार्ता भएको थियो ।

बेईजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’ मा चिनियाँ राष्ट्रपति सीसँग प्रधानमन्त्री दाहालले महत्वपुर्ण सम्झौता नगरे पनि दुई मुलुकबीचको सम्बन्ध सुधारका लागि भ्रमण फलदायी भएको सरकारले दाबी गरेको छ ।

चिनियाँ राष्ट्रपतिसँगको भेटमा प्रधानमन्त्री दाहालले दुईपक्षीय सम्बन्धका साथै ‘वान वेल्ट वान रोड’ परियोजनामा नेपालको सहभागिता तथा एक चीन नीति प्रति प्रतिबद्धता जनाएका थिए ।