August 16, 2017

साझेदारी वनलाई प्रदेशको सूचिमा राख्न माग गर्दै ज्ञापनपत्र

खग प्रसाद चापागाई/कपिलवस्तु, २८ चैत्र । साझेदारी वनलाई वडाको काम कर्तव्य र अधिकार अन्तर्गत राखिएको विरोधमा साझेदारी वन व्यवस्थापनको कार्य प्रदेशको सूचिमा राख्न माग गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ ।

साझेदारी वन उपभोक्ता महासंघ कपिलवस्तुको आयोजनामा जिल्लाका पाँचवटै साझेदारी वनका अध्यक्षहरुले प्रजिअ बिष्णु प्रसाद ढकाललाई ज्ञापनपत्र बुझाएका थिए ।

तिलौराकोट साझेदारीका जयप्रकाश पाण्डेय, कपिलवस्तुका गंगेशनाथ तिवारी, मायादेबीका अब्दुल अजिज खाँ, गौतमबुद्धका जानकी प्रसाद यादव र शिवराजका जगदम्बा प्रसाद चौधरीले संयुक्त रुपमा बुझाएको ज्ञापनपत्र सम्बन्धित निकायमा प्रेषित गर्ने प्रजिअ ढकालले प्रतिबद्धता जनाए ।

महासंघले बुझाएको ज्ञापनपत्रमा वन ऐन २०४९ बमोजिम वन क्षेत्रको उपयोगमा राजनैतिक सिमानाको अर्थ र प्रभाव नरहने व्यवस्था बमोजिम हालसम्म देशै भर साझेदारी र सामुदायिक वन हस्तान्तरण भएको उल्लेख छ ।

तर संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयको मिति २०७३ फागुन २४ र मन्त्री परिषद्को फागुन ९ गतेको निर्णयबाट वडाको काम कर्तव्य र अधिकार अन्तर्गत अनुसूचि १ को बुँदा नम्बर २१ को वन तथा वातावरण सम्बन्धी व्यवस्थाले स्थानीय निकायहरु बीचमै द्वन्द सिर्जना हुने अवस्था आएको ज्ञापनपत्रमा जनाइएको छ ।

उक्त निर्णय संशोधन गरी तत्काल आवश्यक संशोधन नभए आफूहरु आन्दोलनको लागि बाध्य हुने र त्यसले सिर्जना गर्ने समस्याको जिम्मेवार सरकार नै हुनुपर्ने चेतावनी समेत दिइएको छ ।