June 27, 2017

साझा बस भक्तपुर भित्र्याए ग्रामीण भेगका रुट अवरुद्ध पार्ने चेतावनी

काठमाण्डौ, ७ चैत्र । भक्तपुरका यातायात व्यवसायीले भक्तपुरमा साझा बस भित्र्याए ग्रामीण भेगका सम्पूर्ण रुट ठप्प पार्ने चेतावनी दिएका छन् ।

रफत सञ्चार क्लबमा पत्रकार सम्मेलन गर्दैै व्यवसायीहरुले साझा यातायातले शहरी भेगमा मात्र रुट सञ्चालन गर्न लागेको भन्दै विरोध जनाउँदै यदि यसो भए भक्तपुरका ग्रामीण भेगमा सवारी ठप्प पार्ने चेतावनी दिएका हुन् ।

भक्तपुर मिनिबस सेवा समितिका अध्यक्ष ज्ञानेन्द्र महर्जनले समिति अन्तर्गत १७ रुटका ३ सय ३७ गाडी सञ्चालनमा रहे पनि यात्रुहरुको सेवालाई ध्यान दिएर थप ४० वटा साझा बस सरहका गाडी मगाइएको बताउँदै साझा बस भित्रिए ग्रामीण रुट ठप्प पार्ने बताए ।

उनले ग्रामीण भेगमा घाटा सहेर पनि यातायात सञ्चालन गरिरहेको बताउँदै शहरी भेगमा नाफा कमाउने हिसाबले साझा बस भित्राउन खोजिएको प्रस्ट पारे ।

भक्तपुर मिनिबस सेवा समितिका पूर्व अध्यक्षहरु रामकाजी भुजू र राजन कसलवटले सरकारले सहकारीबाट ऋण लिएर सञ्चालनमा रहेका बसहरुलाई बन्द गराउँदै सहकारी डुबाउने खेलमा लागेको आरोप लगाए ।