October 22, 2017

साइपाललाई काष्ठमण्डप कप

काठमाण्डौ २१ चैत्र । साइपाल एकेडेमीले प्रथम काष्ठमण्डप कप अन्तरविद्यालय छात्र फाइभ ए साइड फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

काष्ठमण्डप विद्यालयको आयोजनामा मण्डिखाटारमा भएको फाइनलमा साइपालले काठमाण्डौ जेभियरलाई ९–१ गोलले पराजित गर्‍यो । विजयी टिमका लागि निशान माझीले ५, अकोश तामाङले २ तथा मुकेश तामाङ र इङ्लाहाङ लिम्बूले १–१ गोल गरे ।

साइपालले लिग चरणमा रोजबड र बाबालाई हराएको थियो भने रिलायन्स रेसिडेन्सियल स्कुलसँग बराबरी खेलेको थियो । उक्त नतिजासँगै साइपाल समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको थियो ।

सेमिफाइनलमा साइपालले द एक्सेल्सियर स्कुललाई पाखा लगाउँदै फाइनलमा स्थान पक्का गरेको थियो ।

विभिन्न तीन विधागत उत्कृष्टको पुरस्कार पनि साइपालकै खेलाडीले हात पारे । अशोक तामाङ उत्कृष्ट खेलाडी तथा अविनाश बमजन उत्कृष्ट गोलरक्षक चुनिए ।

प्रतियोगिता अवधिभर १२ गोल गर्ने निशान माझी सर्वाधिक गोलकर्ता बने । विजेतालाई तालिम तथा प्रशिक्षण विभागका उप निर्देशक एवं वरिष्ठ फुटबल प्रशिक्षक विराटकृष्ण श्रेष्ठ, काष्ठमण्डपकी प्रिन्सिपल डा. शिवा थापा र साइपालका प्रिन्सिपल सुमन नगरकोटीले पुरस्कार वितरण गरे ।

तीन दिने प्रतियोगितामा ८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।