August 19, 2017

सवारी दुर्घटनामा एक बालिकासहित पाँच जनाको मृत्यु, २० घाइते

उद्धव घिमिरे / विराटनगर, १० चैत । मोरङ र संखुवासभामा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु हुनाको साथै २० जना घाइते भएका छन् ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत मोरङको बयरवन–९ स्थित लेटाङ मोडमा गए राती यात्रुबाहक बस र मोटरसाइकल एक अर्कामा ठक्कर खाँदा चार जनाको ज्यान गएको छ भने २० जना घाइते भएका छन् ।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार मोरङ लेटाङभोगटेनी नगरपालीका–३ का १८ बर्षीय देवेन्द्र लिम्बु, सोही ठाउँका २० बर्षीय तिलक लिम्बु र बसमा सवार बुटवल घर भई हाल भारत बस्ने ७९ बर्षीय पुरुषोतम सुवेदी र सोही ठाउँकी ६८ बर्षीया टिका सुवेदी रहेका छन् ।

दुर्घटनामा गम्भिर घाइते भएका उनिहरुको उपचारको क्रममा पथरी अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

काकँडभिट्टाबाट बुटवल तर्फ जाँदै गरेको ना ५ ख ५३८७ नम्बरको मुक्तिनाथ ट्राभल्सको बसले बिपरित दिसाबाट आउदै गरेको मे ४ प ८५११ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा बस अनियन्त्रित भई सडक छेउको रुखमा ठोक्किन पुगेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा बसमा यात्रा गरिरहेका १ महिला सहित २० जना घाइते भएका र उनिहरुको बिराटनगरस्थित न्युरो हस्पिटल, बिराट नर्सिङहोम, पथरी अस्पतालमा उपचार भइरहेको छ भने चार जनाको भारतको सिलिगुडीमा उपचार भइरहेको जनाइएको छ ।

घाइतेहरु सबैको अबस्था सामान्य रहेको छ । मोटरसाइकल, बस र चालकलाई इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै संखुवासभाको खाँदबारी नगरपालिका–१३ स्थित तुम्लिङटारमा हिजो अपरान्ह ट्रयाक्टरको ठक्करबाट एक वालीकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रत्न अम्बिका माध्यामिक बिध्यालय तुम्लिङटारमा कक्षा ८ मा अध्ययनरत चैनपुर नगरपालिका–१८ की १३ बर्षीया लिला राई रहेकी छन् ।

सभाखोलाबाट खाँदबारीतर्फ जाँदै गरेको को २ त ४२०१ नम्बरको ट्रयाक्टरको ठक्करबाट गम्भिर घाइते भएकी वालीका राईको मातामनकामना हस्पिटल खाँदवारीमा उपचारको क्रममा मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

ठक्कर दिने ट्रयाक्टर र चालकलाई तुम्लिङटार बिमानस्थल सुरक्षा गार्ड प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।