सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक नियुक्ति विवादमा आज फैसला गर्दै

काठमाण्डौ ८ चैत्र । सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक नियुक्ति विवादमा आज फैसला गर्दैछ ।

प्रधानन्यायाधीश सुशीला कार्की सहित ५ न्यायाधीशको पूर्ण इजलासले मुद्दाको सुनुवाई सकिएपछि आज फैसला सुनाउने मिति तोकेको हो । रिट निवेदक र सरकारी वकिलको बहस भने सकिएको छ ।

आईजीपी बनाउने अधिकार सरकारमा निहित रहेको बताउदै प्रहरी नियमावली अनुसार ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता लगायत प्रावधान स्वविवेकीय रहेकाले निर्णयमा हस्तक्षप गर्न नमिल्ने सरकारी वकिलहरुको भनाइ छ ।

यसअघि अन्तरिम आदेश दिदा संलग्न न्यायाधिशहरु नै अन्तिम सुनुवाईमा संलग्न भएको भन्दै चन्दका कानुन व्यवसायीले भने इजलास बहिष्कार गर्दै आएका छन ।

गत फागुन १ गतेको मन्त्रिपरिषद बैठकले बरियाताको तेस्रो नम्बरमा रहेका डिआईजी जयबहादुर चन्दलाई आइजीपीमा बढुवा गरेपछि अधिवक्ता कपिलदेव ढकाल र शीर्ष वरियताका डीआईजी नवराज सिलवालले निर्णयबिरुद्ध सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।

रिटमाथी सुनुवाई गर्दै प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले निर्णय कार्यान्वयन नगर्न सरकारको नाममा अन्तरिम आदेश दिएको थियो ।