October 24, 2017

सर्वदलीय बैठकमा प्रधानमन्त्रीले भने, ‘दुई चरणमा निर्वाचन गर्न प्राविधिक समस्या छ’

काठमाण्डौ, १५ वैशाख । बालुवाटारमा बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले दुई चरणमा निर्वाचन गर्न प्राविधिक समस्या रहेको बताएका छन् ।

बैठकमा सहभागी राष्ट्रिय जनता पार्टी नेपालका नेता अनिल झाले प्रधानमन्त्रीले प्राविधिक समस्या देखाएको बताए । झाले बैठकमा निर्वाचन एकै चरणमा गर्नुपर्ने धारणा प्रतिपक्षी दलहरुले राखेको  उल्लेख गरे ।

बैठकमा सहभागी एमाले नेता अग्नि खरेलले पनि निर्वाचन एकै चरणमा गर्नुपर्नेमा जाेड दिए । मतगणनाकाे सन्दर्भमा पहिलो निर्वाचन पछिको मतगणनाले अर्को निर्वाचनलाई प्रभावित पार्ने हुँदा गणना गर्न नहुने उनको भनाई छ ।

बैठकमा प्रधानमन्त्रीले दुई चरणको बीचमा हुने बजेटको विषयलाई समेत प्राविधिक समस्या भन्दै धारणा माग गरेका थिए । प्रतिपक्षीदलहरुले बीचमा बजेट ल्याउन नमिल्ने बताएका थिए भने अन्य दलहरुले प्रचारात्मक कार्यक्रम नराखी जेठ १५ को संवैधानिक व्यवस्था पालना गर्नुपर्ने धारणा राखेका थिए।

बैठकपछि उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले एमाले सहितका दलहरुले दुई चरणमा नभई निर्वाचन एकै चरणमा गर्नुपर्ने बताएको उल्लेख गरे । मन्त्रिपरिषद् बैठकको बीचमा प्रधानमन्त्रीले संशोधन परिमार्जन गर्ने विषयमा एमालेसँग कुराकानी समेत गरेको निधिले बताए ।