August 23, 2017

सरदसिंह भण्डारी नेतृत्वको रामसपालाई ठुलो धक्का दुई जिल्ला उपाध्यक्ष सहित दर्जन सदस्यले पार्टी छोडे

दिनेश शर्मा

राजविराज, २२ चैत्र । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा सरदसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेश समाजवादी पार्टीबाट ठुलो संख्यामा नेता कार्यकर्ता बाहिरिएका छन् ।

पार्टीका पुर्व केन्द्रिय सदस्य तथा संस्थापक नेता भरतप्रसाद साह सहित १ दर्जन जिल्ला स्तरीय नेता कार्यकर्ताले मंगलबार सामूहिक राजिनामा दिएका हुन् । संयुक्त प्रेस विज्ञप्ति मार्फत पार्टी परित्यागको घोषणा गर्नेहरुमा अधिकांश जिल्ला कमिटिका पदाधिकारी तथा सदस्यहरु छन् ।

जिल्ला उपाध्यक्षहरु बैजुप्रसाद दास र भागिरथ प्रसाद साह, सह–सचिव ललनप्रसाद यादव, जिल्ला सदस्यहरु रासदेव राम, चितञ्जन सदा, रामचन्द्र चौधरी, कुलानन्द चौधरी, मुसण्डिवती चौधरी, संजिवकुमार साह, जिल्ला सल्लाहकार युगेश्वर साह र युवा संगठनका पुर्व जिल्ला अध्यक्ष सनात अलिले पार्टी परित्याग गरेका हुन् ।

पार्टीमा व्यक्तिवाद, स्वार्थवाद र अवसरवादी प्रवृत्ति हावी भएको र आसेपासेको मात्रै पहुँच र पदमा पुग्ने गैर राजनीतिक संस्कारको बोलवाला बढेकाले काम गर्न असहज महसुस गरी पार्टी परित्याग गर्नु परेको विज्ञप्तिमा उल्लेख छ । पार्टीभित्रको गलत संस्कार विरुद्ध पटक–पटक विरोध र असन्तुष्टि जनाउँदा पनि कुनै सुनुवाई नहुँदा आफ्नो राजनीतिक साख जोगाउन र अस्तित्व बचाई राख्न सामुहिक राजिनामा गर्न बाध्य भएको उनीहरुले जनाएका छन् ।
यस विषयमा पार्टीका केन्द्रिय सचिव गजेन्द्र मण्डलले भने हरेक पार्टीभित्र असन्तुष्टि हुने भन्दै पार्टीभित्र भएका सामान्य असन्तुष्टि पार्टीभित्रै सुल्झाउनुको सट्टा राजिनामा दिनुका पछाडिको वास्तविक्ता आफुले बुझ्न नसकेको बताएका छन् ।