June 27, 2017

सरकार निर्वाचनमा जान चाहदैन : एमाले नेता पण्डित

मोहन बल्ल

भक्तपुर, २६ माघ । नेकपा एमालेका नेता लालबाबु पण्डितले सरकार संविधान कार्यान्वयनमा नलागेको आरोप लगाएका छन् ।
बुधबार रफत सञ्चार क्लवमा आयोजित साक्षात्कार कार्यक्रममा नेता पण्डितले सरकारमा रहेका पार्टीहरु निर्वाचमा जान नचाहेकोले संविधान कार्यान्वयनमा समस्या उत्पन्न हुने खतरा बढिरहेको बताए ।
निर्वाचनको हल्ला गरेर निर्वाचन नगर्ने हो भने त्यो गलत हुने उनले बताए । सरकारले जेठसम्म स्थानीय निकायको निर्वाचन गर्न सकेन भने सरकारको औचित्य समाप्त हुने उनको धारणा थियो ।
निर्वाचन गर्न नसके सत्ताधारी राजनीतिक पार्टीहरुको सत्ता मात्रै ढल्ने नभई ती राजनीतिक पार्टी पनि जनताको बीचबाट समाप्तिको बाटोतर्फ लाग्ने बताए । उनले चुनाव गर्न र संविधान कार्यान्वयन गर्न खुट्टा नकमाउन सरकारलाई आग्रहसमेत गरेका छन् ।
सत्ताधारी चुनावबाट भाग्ने र विपक्षी चुनावमा जान तयार हुने अवस्था आएको नेता पण्डितले बताएका छन् ।
संविधान कार्यान्वयन भएनन् भने देश संकटमा पर्ने बताउँदै उनले यदी त्यस्तो अवस्था आए त्यसको मुख्य जिम्मेवार सत्ताधारी राजनीतिक दल हुने उनले बताए । त्यो अवस्थामा ती दलहरु यही अवस्थामा रहन्छ रहँदैन त्यो फैसला जनताले गर्ने उनले बताए ।