August 19, 2017

सरकारी जमीन व्यक्तिको नाममा गर्ने वन कार्यलयका अधिकृतसहित दुई पक्राउ

रौटहट, २३ चैत्र । सरकारी जमीन व्यक्तिको नाममा दर्ता गर्न सहयोग गर्ने जिल्ला वन कार्यालयका एक अधिकृतसहित दुई जना पक्राउ परेका छन् ।

जिल्ला वन कार्यालय गुल्मीमा कार्यरत सहायक वन अधिकृत रामकेबल यादव र तत्कालिन रङ्गपुर गाविसका पूर्व अध्यक्ष हरिनारायण बन्ठा पक्राउ परेका हुन् ।

रौतहटको तत्कालिन रङ्गपुर गाबिस–५ मा रहेको राष्ट्रिय वनको १ सय २२ बिगाहा जमीन सर्लाही, ओखलढुङ्गा, काठमाडौं, रामेछाप, सिन्धुली, सोलुखुम्बु, सिन्धुपाल्चोक लागायतका जिल्लामा बसोबास गर्ने २३ जनाको नाममा दर्ता गर्न सहयोग गरेको अभियोगमा उनलाई पक्राउ गरेको हो ।

वन कार्यालय रौतहटका तत्कालिन अधिकृत रामकेबल यादबसहितको मिलोमतोमा नापी कार्यालयले ०७२ जेष्ठ ६ गते पूर्जा बितरण गरी फिल्ड बुक र नक्सा कायम गरेको पाइएपछि जिल्ला वन कार्यालय रौतहटले सो जमीनको दर्ता खारेज गर्दै उनीहरुलाई पक्राउ गरी अनुसन्धान थालेको हो ।

उनीहरुलाई जिल्ला वन कार्यालय रौतहटले जिल्ला अदालत गौरबाट दश दिनको म्याद थप गरी अनुसन्धान थालेको छ ।

पक्राउ परेका दुई जनासहित अन्य ३६ जनामाथि अनुसन्धान भइरहेको वन कार्यालय रौतहटले जनाएको छ ।