October 19, 2017

सरकारले हायात होटलसँगको सम्झौता तोड्ने

काठमाण्डौ,३०चैत्र । सरकारले हायात होटेल सञ्चालन गर्न दिएको जग्गा भाडाको सम्झौता तोड्ने भएको छ ।

नेपाल सरकारले तारागाँउ रिजेन्सी होटेल्स लिमिटेडअन्तर्गत सञ्चालन भइरहेको पाँचतारे होटेल हायातसँगको जग्गा भाडा तोड्न आवश्यक प्रक्रिया अगाडि बढाएको छ ।

होटेल स्थापनाको १९ वर्षसम्म १७ करोड रुपैयाँको लगानीले कुनै प्रतिफल नदिएको, सरकारी लगानी बालुवामा पानी सरह भएको र हायात व्यवस्थापनले सरकारी सम्पति नै हडप्न खोजेकाले सम्झौता तोड्न लागिएको पर्यटन मन्त्रालय स्रोतले जानकारी दियो । तारागाँउ विकास समिति र सरकारबीच २०४९ असोज २२ गते एक सय ४८ रोपनी जग्गा भाडाको सम्झौता भएको थियो ।

तारागाउँ विकास समितिले पनि होटेलमा भएको लगानीको प्रतिफल नआउनु, होटेलको व्यवस्थापन समूहले अधिक खर्च देखाएर बर्षेनि होटेल घाटामा देखाउनु, सरकारी प्रतिनिधिको संख्या तीनजनाबाट एकमा झर्नु तथा ३९ प्रतिशतको सेयर स्वामित्व नौ प्रतिशतमा आउनुले पनि होटेलसँगको जग्गा भाडा सम्झौता तोड्ने निर्णय गरिसकको मन्त्रालयको भनाइ छ । यो खबर आजको अन्नपूर्ण दैनिकमा छ ।