October 22, 2017

सरकारले सामाजिक उत्तरदायित्वकाे प्रकृया अगाडि बढायाे

काठमाण्डौ, २५ चैत्र । औद्योगिक व्यवसाय ऐन २०७३ मा गरिएको संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी व्यवस्थालाई सरकारले आफूबाटै कार्यान्वयन गर्न सुरु गरेको छ ।

उद्योग मन्त्रालयले हेटौंडा र उदयपुर सिमेन्ट उद्योगबाट उत्पादित सिमेन्टको बिक्रीबाट प्राप्त रकम मध्ये प्रति बोरा १ रुपैंयाँ ५० पैसा देखि २ रुपैंयाँका दरले हुन आउने रकम संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च गर्ने प्रकृया अगाडि बढाएको छ ।

शुक्रबार मन्त्रालयमा आयोजित औद्योगिक व्यवसाय ऐन २०७३ को दफा ४८ मा व्यवस्था गरिए बमोजिम संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी छलफल कार्यक्रममा उद्योग मन्त्री नवीन्द्रराज जोशीले हेटौंडा र उदयपुरबाट उत्पादित सिमेन्टमा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम कार्यान्यवनका लागि रकम छुट्याउने व्यवस्था आगामी वैशाख ३ गतेबाट कार्यान्वयनमा आउने जानकारी दिए ।

यसरी संकलन गरिएको रकम विपन्न वर्गका बालबालिकाहरुको स्वास्थ्य, शिक्षा र पोषणमा खर्च गरिने जानकारी उद्योग मन्त्री जोशीले बताए ।

सरकारले हालै ल्याएको औद्योगिक व्यवसाय ऐन २०७३ को दफा ४८ मा मझौला वा ठूला उद्योग अथवा बार्षिक १५ करोड रुपैंया भन्दा बढि कारोबार गर्ने घरेलु तथा साना उद्योगले बार्षिक मूनाफाको कम्तीमा १ प्रतिशत रकम व्यवसायिक सामाजिक जिम्मेवारी गर्ने प्रयोजनमा खर्च गर्नुपर्ने व्यवस्था गरिएको छ ।

छलफलमा नीजि क्षेत्रका प्रतिनिधिहरुले व्यवसायिक सामाजिक जिम्मेवारी अन्तर्गत आफ्नो मूनाफाको केही अंश सामाजिक क्षेत्रमा खर्च गर्न नीजि क्षेत्र तयार रहेको तर त्यस प्रकारको सहयोगलाई खर्च लेख्न पाउने व्यवस्था हुन सके अझ प्रभावकारी रुपमा सहयोग जुट्ने बताएका थिए ।