August 16, 2017

सरकारद्वारा स्थानीय तह सुरक्षा विशेष योजना स्वीकृतः गृह राज्यमन्त्री बानियाँ

काठमाण्डौ २३ चैत्र । गृह राज्यमन्त्री इन्द्रबहादुर बानियाँले वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन सफल बनाउनको लागि सरकारले स्थानीय तह सुरक्षा विशेष योजना स्वीकृत गरेर मातहतमा पठाइसकेको बताएका छन् ।
बुधबार काठमाण्डौमा आयोजित कार्यक्रममा उनले एक हप्ताभित्रै मतदान केन्द्र र निर्वाचन क्षेत्रमा सुरक्षा निकायलाई परिचालन हुन समेत जानकारी दिए ।

बानियाँले मधेशी मोर्चाले पनि चुनावमा भाग लिने विश्वास दिलाए । त्यस्तै उनले सरकारले अहिले वैशाख ३१ गतेको निर्वाचनलाई दुई चरणमा गर्ने भनेर नभनेको समेत स्पष्ट पारे ।
मधेशी मोर्चाको माग सम्बोधन गर्नको लागि सरकारले आन्तरिक गृहकार्य गरिरहेको भन्दै प्रदेशको सिमांकनलाई उच्चस्तरीय आयोग बनाएर टुँगो लगाउने गरी अघि बढ्ने तयारी भैरहेको बाँनियाले जानकारी दिए ।

सो कार्यक्रममा मधेशी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले मधेशी मोर्चामा आवद्ध दलहरुबीच छिट्टै एकता हुने स्पष्ट पारे । उनले संविधान संशोधन नभएसम्म आफूहरु निर्वाचनमा भाग नलिने स्पष्ट समेत पारे ।

सहमतिको लागि वार्ता तथा छलफलको लागि बोलाइए पनि अहिलेसम्म निकासको ठोस प्रस्ताव सरकारले अघि सार्न नसकेको यादवको आरोप छ ।