November 19, 2017

सम्पूर्ण शक्तिका साथ कांग्रेस चुनावी अभियानमा

काठमाण्डौ २७ कार्तिक । नेपाली काग्रेसले मंसीर १० गते पहिलो चरणमा हुने निर्वाचन प्रचार अभियानमा पार्टीको सम्पूर्ण शक्ति परिचालन गरिएको जनाएको छ ।

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिले सोमबार ललितपुरमा पत्रकार सम्मेलन गर्दे यस्तो जानकारी दिएको छ । कांग्रेसले पहिलो चरणमा प्रतिनिधि सभाका लागि ३५ जना र प्रदेश सभाका लागि ६६ जना उम्मेद्वारी दिएको छ ।

कांग्रेसले मतदान बदर हुन नदिन सचेत रहन पनि आम मतदातालाई आह्वान गरेको छ । केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँडले लोकतन्त्रलाई बलियो बनाउन पनि मत पत्र बदर हुन नदिन पार्टीले मतदातालाई सचेत रहन आग्रह गरेको बताए ।

कांग्रेसले मतदान बदर हुन नदिन देशभर मतदाता प्रशिक्षण कार्यक्रम पनि संचालन गरिरहेको पनि जनाएको छ । कांग्रेसले निर्वाचनमा पार्टीको पक्षमा जनमत सृजना गर्न उत्साहका साथ लाग्न पनि पार्टीका नेता कार्यकर्तालाई सचेत गराएको उनले बताए ।

खाँडले लोकतान्त्रिक गठबन्धनका उम्मेदवारद्धय डा. बाबुराम भट्टराई र पशुपतिशमशेर राणा विजयी हुने दावी गरे । कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनबाट भट्टराई प्रतिनिधि सभा सदस्यका लागि गोर्खा क्षेत्र नम्बर १ बाट र राणा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट उम्मेद्वार बनेका छन ।