October 24, 2017

समानुपातिकतर्फ ३ प्रतिशत र प्रत्यक्षतर्फ १ सिट जित्ने दललेमात्र राष्ट्रिय दलको मान्यता पाउने

काठमाण्डौ, ९ चैत्र । प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ ३ प्रतिशत र प्रत्यक्षतर्फ १ सिट जित्ने दललेमात्र राष्ट्रिय दलको मान्यता पाउने भएका छन् ।

बुधबार बसेको संसदको राज्य व्यस्था समिति बैठकले दलहरुको सो प्रस्ताव बहुमतले पारित गरेको संसद सचिवालयका प्रवक्ता भरतराज गौतमले बताए ।

खसेर सदर भएको कुल मतमध्येबाट राष्ट्रिय दलको अस्तित्व राख्नका लागि समानुपातिकमा ३ प्रतिशत र प्रत्यक्षमा एक सिटको थ्रेसहोल्ड राख्ने दलहरुबीच सहमति बनेको थियो ।

उपसमितिका सदस्य तथा सांसद रामेश्वर फुयालले भने, ‘हामीले कम्तीमा समानुपातिकतर्फ ३ प्रतिशत र प्रत्यक्षमा एक सिट जित्नु पर्ने थ्रेसहोल्ड भने पनि राख्यौँ, ‘यसले दलहरुको अराजकतालाई केही हदसम्म रोक्ने छ ।

उपसमितिका सदस्यहरू तथा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल र नेकपा मालेका अइन्द्रसुन्दर नेम्वाङले भने थ्रेसहोल्ड राख्न नहुने फरक धारणा राखेका थिए ।

उक्त प्रस्तावलाई गृहमन्त्रीले विधेयकको रुपमा संसदमा पेस गरेपछि पारित हुन्छ र राष्ट्रपतिले स्वीकृत गरेपछि ऐन बनेर लागु हुनेछ ।