समयसापेक्ष ज्ञान दिलाउन सके बढ्दो युवा पलायनलाई रोक्न सकिन्छ–प्रचण्ड

काठमाण्डौ, २३ फाल्गुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्र विकासको मेरुदण्ड मानिने युवाहरुलाई समयसापेक्ष ज्ञान दिलाउन सके बढ्दो युवा पलायनलाई रोक्न सकिने बताएका छन् ।

राष्ट्रिय सेवाद्वारा सञ्चालित १२ ब्याच सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज समारोहलाई सोमबार ललितपुरमा सम्बोधन गर्दै उनले अनुशासन, नेतृत्व विकास, राष्ट्रिय एकता र विपद् व्यवस्थापनसम्बन्धी ज्ञान दिलाउन सके बढ्दो युवा पलायनलाई रोक्न सकिने बताएका हुन ।

सामान्य विपद्का बेलादेखि ठूलास्तरका प्राकृतिक विपत्ति, दुर्घटनालगायतमा समेत सेवा दलबाट तालिम प्राप्त व्यक्तिले अमूल्य योगदान दिनसक्ने प्रधानमन्त्री प्रचण्डले बताए ।

नेपालजस्तो विपद्को उच्च जोखिममा रहेको देशका लागि यो तालिमको अपरिहार्यता झनै बढेको बताए ।

आफूले सो तालिम लिएको स्मरण गर्दै उनले युवावस्थाको जोश, जाँगर र उत्साहलाई अनुशासन र देशभक्तिको मार्गमा डोेर्‍याउन उक्त तालिमले महत्वपूर्ण भूमिका खेलेको बताए ।

कडा परिश्रम, लगनशील र उत्सुकताका साथ तालिममा सिकेका सैनिक तथा विविध व्यावहारिक ज्ञानले एक अनुशासित र कर्मठ देशभक्त नागरिकको रुपमा कार्य गर्न फलदायी भएको विश्वास गरेका छन् ।

सेवा दलले पछिल्लो समय मुलुकका ६६ जिल्लाका ९० विद्यालयका छात्रछात्रालाई सय दिनको तालिम प्रदान गर्दै आएको छ । यस वर्षमात्र सेवा दलले विद्यालयस्तरका तीन हजार ५सय ६५ र उच्चमाध्यामिक स्तरका ४ सय ३५ जनालाई तालिम प्रदान गरेको जनाइएको छ ।