October 20, 2017

सबै दलबीच आपसी सहमतिमा निर्वाचन भए राम्रोः भारतीय नेता जोली

काठमाण्डौ, २८ चैत्र । भारतीय जनता पार्टीका प्रभावशाली नेता एवम् नेपाल मामिलाका जानकार विजय जोलीले सबै दलको सहमतिमा नै स्थानीय तहको निर्वाचन गर्नुपर्ने सुझाव दिएका छन् ।

दुई दिने नेपाल भ्रमणमा आएका जोलीसँग सोमबार रिपोर्टर्स क्लब नेपालले गरेको विशेष साक्षात्कारमा बोल्दै नेता जोलीले यस्तो सुझाव दिएका हुन् । उनले भने, ‘नेपालमा स्थानीय तहको निर्वाचनको अति आवश्यक छ, सकेसम्म सबै दलहरुबीचको सहमतिमा नै चुनाव भए राम्रो हुन्छ ।’

रिपोटर्स क्लबको साक्षात्कार कार्यक्रममा बोल्दै नेता जोलीले सबै दलहरु आपसी समझदारीका आधारमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई समेत संस्थागत गर्नको लागि निर्वाचनमा सहभागी हुनुपर्ने जोड दिए । उनले भने, ‘प्रधानमन्त्री प्रचण्डजी, देउवाजी, ओलीजी, थापाजी, गच्छदारजी र महन्थ ठाकुरजी सबैले आपसी समझदारी गरेर चुनावमा जानुपर्छ ।’

जोलीले नेपाललाई भारतले सँधै शक्तिशाली भएको हेर्न चाहेको उल्लेख गर्दै नेपालमै आर्थिक समृद्धि हासिल भए यहाँका नौ जवानहरु विदेशिनु पर्ने अवस्थाको अन्त्य हुने विश्वास दिलाए ।

त्यस्तै उनले नेपालको आन्तरिक राजनीतिमा भारतले कहिल्यै पनि हस्तक्षेप नगरेको समेत दाबी गरे ।