June 26, 2017

तराई तनाव, सरकारी कार्यालयमा तोडफोड,आगजनी, मानवअधिकार आयोग पनि निशानामा

दिनेश शर्मा, राजविराज ।आतिश मिश्रा, जनकपुर । अमर काफ्ले, इनरुवा
राजविराज, २४ फागुन । प्रहरीको गोली लागि ३ जनाको मृत्यु भएपछि आक्रोशित संघिय लोकतान्त्रीक मधेसी मोर्चाका कार्यकर्ताले मंगलवार विहान राष्ट्रिय मानवअधिकार आयोगको जिप तथा विभिन्न सरकारी कार्यालयमा तोडफोड र ढुंङ्गामुढा गरेका छन् ।

 


आक्रोशित कार्यकर्ताले आयोगको बा ७ च ७४७३ नम्वरको जिपमा ढुङ्गा हानेर तोडफोड गरेका छन् । आयोगका कर्मचारी जिप भित्रै रहेको अवस्थामा आगजनीको प्रयास पनि भएको थियो । अहिले आयोगका अधिकृतहरु रेवा रेग्मी, चिरन्जीवी कोईराला, पवन भण्डारी, नवलकिशोर सिंह र ड्राईभर श्रीराम कार्की जिल्ला अदालत राजविराजमा शरण लिएर वसेका छन् ।


यसैगरी मोर्चाको सोही समुहले नेपाल टेलीकमको राजविराज स्थित कार्यालय र राजविराज नगरपालिका कार्यालयमा पनि ढुङ्गामुढा गरेका छन् । दुवै कार्यालयका झ्यालका सिसा फुटेको कार्यालयका कर्मचारीहरुले जानकारी दिए ।
यसैविच मधेसी मोर्चाका कार्यकर्ताले विहानै देखि सदरमुकाम राजविराज लगायत जिल्लाका विभिन्न स्थानमा टायर वालेर नाराजुलुस र प्रदर्शन गरिरहेका छन् । मुख्य वजारहरुमा प्रहरीको उपस्थिती न्यून छ भने सरकारी कार्यालय तथा एमाले पार्टीकार्यालयमा प्रहरीको उपस्थिती बाक्लो बनाईएको छ ।
यसैविच नेकपा एमालेले सोमवार आमसभा गरेको गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रको मुल गेट अगाडि बम जस्तो देखिने २ थान शंकास्पद वस्तु र ७ दशमल ६२ को ३ राउण्ड गोली पनि फेला परेको सुरक्षा श्रोतले जनाएको छ ।
अर्कोतर्फ, मधेसी मोर्चाका कार्यकर्ताले सिरहाका मुख्य बजारहरु लहान, गोलबजार, मिर्चैया, सिरहा सदरमुकाम लगायतका ठाउँहरुमा सडकमा टायर बालेका छन् । स्थानीय बजार पसल बिहानैदेखि ठप्प रहेको छ भने जिल्लाको पूर्व पश्चिम तथा सहायक सडकहरुमा लामो तथा छोटो दूरीका कुैनै पनि सवारी साधनहरु चलेका छैनन् । सडकमा विवाहका गाडी, मोटरसाइकल, साइकल बाहेक अन्य सवारी साधन बन्द रहेका छन् ।
मोर्चाका कार्यकर्ताहरुले राती पूर्व पश्चिम सडकको लहान ३ रघुनाथपुरमा सिरहाको भगवानपुरबाट धान लोड गरेर ल्याएको ट्रकमा आगजनी गरेका छन् । मसाल जुलुश गरिरहेको समयमा सडकमै रोकिएपछि बीरगंज जाँदै गरेको ना.४ ख२०७ नं. को ट्रकमा पेट्रोल छर्केर आगजनी गरेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायव उपरीक्षक (डिएसपी) हिराबहादुर पाण्डेले जानकारी दिएका छन्।
त्यस्तै, मोर्चाका कार्यकर्ताहरुले सिरहाको गोलबजारमा इलाका प्रहरी कार्यालय अगाडिको सडकमा रोकेर राखिएको भारतीय WB52 A 4013 नम्बरको ट्रकमा पनि आगजनी गरेका छन् ।

जनकपुर पनि बन्द

सप्तरी घटनाको विरोधगर्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले अव्हान गरेको दुई दिने तराई बन्दको प्रभाव जनकपुरमा पनि परेको छ ।
बन्दका कारण जनकपुरको जनजीवन विहानै देखी प्रभावित छ । बन्दको कारण जनकपुरको बजार, शैक्षिक संस्था यातायात पुर्ण रुपमा ठप्प रहेको छ । बिहानै देखि मोर्चाका कार्यकर्ता लाठि जुलुस प्रदर्शन गरिरहेका छन । विभिन्न चौकहरुमा टायर बालिएको छ । मोर्चाका कार्यकर्ताले बिहान जनकपुरको पिराडी चौकमा एउटा टिपर र ट्रयाक्टरमा तोडफोड गरेका छन ।
मोर्चाको बन्दलाई फोरम लोकतान्त्रिकले समेत समर्थन गरेको छ । लोकतान्त्रिकले समेत विरोध प्रदर्शन गर्दै गृहमन्त्री विमलेन्द्र निधि राजिनामा मांग गरेको छ । मोर्चाका कार्यकर्ताहरुले जनकपुरको जनक चौकमा महिला अधिकारकर्मीहरुले मनाइरहेको अन्र्तराष्ट्रिय नारी दिवसलाई विथोलेका छन । उनिहरुले त्यहा लगाइएको ब्यानरहरु च्यातेर फालेका छन ।

सुनसरी पनि अशान्त

सप्तरी घटनाको विरोधमा मधेशी मोर्चाका कार्यकर्ताहरुले विहानैबाट सुनसरीमा समेत प्रर्दशन थालेका छन् । एमाले विरोधी नाराबाजी गर्दै मोर्चा कार्यकर्ताहरु सडमका उत्रिएका छन् ।पूर्व पश्चिम राजमार्ग अन्र्तगत इनरुवा बस चौक खण्डमा मोर्चाका कार्यकर्ताहरु सडकमै बसेर नाराबाजी गरिरहेका छन् ।