सप्तरी घटनामा प्रहरीले ज्यादति गरेकाे संसदिय उपसमितिकाे ठहर

दिनेश शर्मा/ राजविराज, १० चैत्र । व्यवस्थापिका संसदको सामाजिक न्याय तथा मानवअधिकार उप–समितिका संयोजक मोख्तार अहमदले फागुन २३ गते सप्तरीको मलेठ घटनामा प्रहरीले ज्यादति गरेको बताएका छन् ।

घटनाको छानविन गर्न ७ सदस्यीय टोली सहित बिहीबार सप्तरी आएका अहमदले घटना स्थलको निरीक्षण, पीडित परिवार, प्रत्यक्षदर्शी, स्थानीय प्रशासन, संयुक्त लोकतान्त्रीक मधेशी मोर्चाका नेता–कार्यकर्ता र अन्य सरोकारवालासँगको भेटघाट तथा छलफलपछि सञ्चारकर्मीहरुलाई यो कुरा बताएका हुन् ।

घट्नास्थलको निरीक्षणकै क्रममा अहमदले प्रर्दशनकारीको भीड नियन्त्रण गर्न रबरको गोली, पानीको फोहोरा लगायतका विकल्पहरु प्रयोग नगरी एकै पटक गोली नै चलाउनु र त्यसमा पनि ढाडमाथि नै गोली हान्नुले सुरक्षाकर्मीको लापरबाही देखिएको बताए ।

उनले घटनाका बेला सप्तरीमा सुरक्षा कमाण्ड सम्हालेका सिडिओ उद्धव तिमिल्सिना, नेपाल प्रहरीका एसपी दिवेश लोहनी, डिएसपी दानवहादुर कार्की र सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय राजविराजका एसपी जयवहादुर खड्कामाथि पनि छानबिन भइरहेको जानकारी दिए ।

सो क्रममा संयोजक अहमदले सरकारले मृतकलाई सहिद घोषणा गर्नुपर्ने र क्षतिपूर्ति प्रदान गर्नुपर्ने माग पनि गरे ।

उपसमितिले १५ गतेभित्र मुल समितिलाई प्रतिवेदन पेश गर्ने र मुल समितिले राय सहित सरकारलाई बुझाएपछि प्रतिवेदन कार्यान्वयनको पाटो अघि बढ्ने उनले जानकारी दिए ।

कांग्रेस सांसद रहेका अहमद नेतृत्वको टोलीमा एमालेकी सासंद बसुन्धरा रोकाया, माओवादी केन्द्रकी दुलारी हरिजन, राप्रपाका श्यामसुन्दर टिबडेवाल र फोरम लोकतान्त्रिकका उषा यादव सहभागी छन् ।