August 23, 2017

सप्तरी घटनाप्रति गृहमन्त्रीद्वारा दुःख व्यक्त

काठमाण्डौ, फाल्गुन २४ । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले सोमबार सप्तरीमा भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् । साथै स्थिति सहज बनाउन सबैको सहयोग आवश्यक रहेको बताएका छन् ।

झडपका क्रममा सुरक्षाकर्मीको गोलीबाट तीन जनाको मृत्यु भएपछि न्यायिक छानविनको माग गर्दै मंगलबार दिउँसो गृहमन्त्रीको कार्यकक्षमा पुगेका प्रदेश नम्बर २ का कांग्रेस सांसदहरुलाई मन्त्री निधिले यस्तो बताएका हुन् । भेटमा सांसदहरुले घटनाको छानवीन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेका थिए ।

सांसदहरुले एमाले नेताहरुको मधेस विरोधी उत्तेजक अभिव्यक्तिका कारण मधेसका जनता आन्दोलित भएको बताएका थिए । गोली चलाउने प्रहरी प्रशासनलाई निलम्बन गर्न र न्यायीक छानवीन समिति गठन गर्न पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।

साथै उनीहरुले मृतकका परिवारलाई शहीद सरह क्षतिपूर्ति र घाइतेको निशुल्क उपचारको व्यवस्था हुनु पर्ने माग पनि गरेका थिए ।

जवाफमा गृहमन्त्री निधिले मंगलबार साँझ बस्ने मन्त्रिपरिषद् बैठकले सप्तरी घटनाबारे आवश्यक निर्णय लिने जानकारी गराउँदै घाइतेको उपचारको व्यवस्था मिलाउन आफूले निर्देशन दिइसकेको बताएका छन् ।