June 26, 2017

सप्तरी घटनाका मृतकको शवयात्रा सम्पन्न , मेधेसी मोर्चाका सबै नेता शवयात्रामा सहभागि

दिनेश शर्मा
राजविराज, २८ फाल्गुन । नेकपा एमालेको मेची महाकाली अभियानका क्रममा फागुन २३ गते भएको हिंसात्मक घटनामा प्रहरीको गोली लागेर मृत्यु भएका पाँचै जनाको शनिवार शवयात्रा निकालिएको छ ।


प्रहरीसँगको झडपका क्रममा मलेठ–२ का २५ वर्षिय सञ्जन मेहता, मलेठ–४ का ५० वर्षिय पीताम्बर मण्डल र प्रसवनी–४ टेङ्गरीका ३५ वर्षिय सिनियर अहेव आनन्द कुमार साह, मलेठ–४ का विरेन्द्र महतो र जमुनी मधेपुरा–१ कौटवीका ५० वर्षिय ईन्द्रदेव यादवको मृत्यु भएको थियो । पोष्टमार्टम पछि शव शुक्रवार राती राजविराज ल्याइएकाे थियाे ।


पाँचै जनाको शव अन्तिम श्रद्धाञ्जलीका लागि ४ घण्टा राजविराज स्थित स्थानीय गजेन्द्र चोकमा राखिएको थियो ।
मृतकलाई श्रदाञ्जली दिन विहानै देखि मानसिहरुको वाक्लो उपस्थिती थियो । बिहान देखि बर्षात भइरहे पनि मानिसहरु ठूलो सँख्यामा जम्मा भएका थिए ।


शवमा फुलमाला हाल्दै गर्दा अधिकांशको आँखामा आँशु देखिएको थियो भने कतिपय भक्कानिएर रोएका थिए । मृतकका आफन्तको चर्को रुवावासीकै बिच संघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, नेपाल सदभावना पार्टीका अध्यक्ष अनिल झा, नेपाल सदभावना पार्टी (गजेन्द्रवादी) का अध्यक्ष विकास तिवारीले अन्तिम श्रद्धाञ्जली दिएका थिए ।


यसैगरी, राष्ट्रिय मधेश समाजवादी पार्टीका उपाध्यक्ष शेखर सिंह, तराई मधेश लोकतान्त्रीक पार्टीका सह महासचिव जयप्रकाश ठाकुरका साथै जिल्ला स्तरीय नेता, कार्यकर्ता, शुभेच्छुक र सर्वसाधारणले पनि फुलमाला अर्पण गरी मृतकहरुलाई अन्तिम श्रद्धाञ्जली दिए ।

 

अन्तिम श्रद्धाञ्जली पश्चात निकालिएको शव यात्रामा सहभागीहरुले विर शहिद अमर रहुन, मधेशी एकता जिन्दावाद लगायतका साथै नेकपा एमाले र अध्यक्ष केपी ओली विरुद्ध चर्को नारावाजी गरे । शव यात्रा राजविराज, हनुमाननगर, भारदह, कंचनपुर, रुपनी, कल्याणपुर, कदमाहा, लाहान हुँदै पुनः राजविराजमै फर्किएको थियो ।
यसैविच अन्तिम श्रद्धाञ्जलीका लागि सप्तरी आएका मधेशवादी दलका अध्यक्षहरुले आईतवार संयुक्त पत्रकार सम्मेलन गर्ने भएका छन् ।
सप्तरीको घटना, गठवन्धन, मोर्चाको अवको रणनीति तथा भावी कार्यक्रम लगायतका विषयमा पत्रकार सम्मेलन मार्फत नेताहरुले आफनो धारणा राख्ने मोर्चाका जिल्ला स्तरीय नेताहरुले जानकारी दिएका छन् ।

सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संचारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै आफुहरु अहिले शोकमा रहेकाले पत्रकार सम्मेलन मार्फत नै आफना कुरा राख्ने बताए ।