सप्तरी घटनाकाे दाेषी एमाले : राजेन्द्र महताे

दिनेश शर्मा
राजविराज, २९ फाल्गनु । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले एमालेको हठ र अहंकारवादी सोचका कारण सप्तरीमा ५ जनाले ज्यान गुमाउनु परेको बताएका छन् ।
प्रेस मञ्च सप्तरीले आईतवार राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा वोल्दै उनले मधेश विरोधी अभिब्यक्ति र संविधान संशोधन हुन नदिने अडानका कारण एमालेमुक्त मधेशको नारा लागिरहेका बेला एमालेका नेताहरु सिगौरी खेल्दै मधेश पसेकै कारण सप्तरीमा रक्तपात भएको आरोप लगाए ।
मधेशमा एमाले विरुद्ध लागेको नारालाई आगोको संज्ञा दिदैं एमाले नेताहरु सप्तरी पसेर त्यो आगोमा घयू थप्ने काम गरेको महतोको तर्क छ । शुरुदेखि नै एमालेको अभिव्यक्ति मधेशबिरोधी रहेको बताउँदै उनले मधेशको अवस्था हेरेर बारम्बार एमालेलाई मधेश नजान सचेत गराउँदा पनि आफ्नो हठ देखाएर सप्तरी प्रवेश गरी पाँच जनालाई मार्न लगाएको उनले आरोप लगाए ।
मधेशलाई चिढ्याउने काम वन्द गरेर संशोधान संशोधन मार्फत मधेशको अधिकार स्थापित गराउने काममा सहयोग गर्न एमालेलाई उनले आग्रह पनि गरेका छन् । उनले एमालेले मधेश बिरोधी रवैया छाडेर मधेसीलाई अधिकार दिलाउने सवालमा अगाडि आउन आग्रह गरे ।
महतोले आन्दोलनको माग र संविधान संशोधन नभई कुनै पनि हालतमा चुनाव हुन नदिने बताउँदै त्यसका लागि हजारौं मधेसी बलिदानका लागि तयार रहेको बताए ।

मृतक परिवारलाई सदभावनाको २५ हजारका दरले सहयोग

एमाले अभियानकक्रममा गत सोमवार प्रहरीको गोली लागि मृत्यु भएका पाँचै जनाको परिवारलाई अध्यक्ष महतोले २५्/२५ हजार  रुपैया सहयोग गरेका छन् । आईतवार सवैको घरमा पुगी उनले सहयोग रकम उपलब्ध गराएका हुन् । उनले सबै परिवारलाई धैर्यता राख्न आग्रह गर्दे मारिएकाहरुको बलिदान खेर नजाने आश्वासन पनि दिए ।