सप्तरीमा स्थानिय निर्वाचनको कुनै चहलपहल छैन

दिनेश शर्मा/ राजविराज, २७ चैत्र । मधेश केन्द्रित दलहरुसँग राजनीतिक सहमति नहुँदा सप्तरीमा स्थानीय निर्वाचनको काम प्रभावित भएको छ ।

बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा त्यस सम्बन्धि गतिविधि सप्तरीमा शुन्य रहेको छ । कर्मचारी मार्फत गर्नु पर्ने काम लगभग सम्पन्न भएपनि स्थानीय राजनितिक दलसँग सहकार्य गरेर गर्नुपर्ने काम पुर्णरुपमा प्रभावित भएको जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख महेशकुमार ठाकुरले बताए ।

मतदाता नामावली तयार भएपनि मतदानस्थल नतोकिदा कुन मतदाताले कुन केन्द्रमा मतदान गर्ने भन्ने अन्यौल एकातर्फ छ भने पुरानो संरचनाबाट नयाँ संरचना कार्यान्वयनकाक्रममा कतिपय वडामा मतदान स्थल नै नपर्ने सँम्भावना पनि रहेकाे छ ।

मदतानस्थल तोकिएपछि मतदान केन्द्र निर्धारणको काम निर्वाचन आयोगले गर्ने भएपनि नयाँ संरचना अनुसार मतदानस्थल नै नपरेका ठाउँमा स्थानीय राजनीतिक दलहरुकै सहमतिमा मतदान स्थल थप गर्नु पर्ने उनले बताए ।

१ लाख ६० हजार ६ सय ८६ महिला, १ लाख ७० हजार ४ सय ५५ पुरुष र २१ तेश्रो लिङ्गि गरी कुल ३ लाख ३१ हजार ४ सय ६२ मतदाता रहेको सप्तरीमा ८ नगरपालिका र ९ गाउँपालिका छन् ।