August 21, 2017

सप्तरीका पत्रकारहरुद्वारा महासंघको केन्द्रीय कार्यालयमा धर्ना

काठमाण्डौ, २ वैशाख । नेपाल पत्रकार महासंघ केन्द्रले अनावश्यक हस्तक्षेप गरेको आरोप लगाउँदै सप्तरीका पत्रकारहरु महासंघको केन्द्रीय कार्यालय काठमाण्डौमा धर्नामा बसेका छन् ।

‘सप्तरी पत्रकार महासंघमा अवैधानिक हस्तक्षेप बन्द गर, विधान सम्मत जिल्ला अधिवेशन सम्पन्न गर’ भन्ने नाराका साथ उनीहरु धर्नामा बसेका हुन् ।

महासंघ शाखा सप्तरीमा झण्डै दुई वर्षदेखिको विवाद केन्द्रीय पदाधिकारीहरुको उदासिनता र गैरजिम्मेवारीपनाले गर्दा समाधान हुन नसकेपछि चैत ३० गतेदेखि महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी गर्दै अनिश्चितकालिन धर्नामा बसेको उनीहरुको भनाइ छ ।

विधान सम्मत सप्तरी शाखामा भएका कामकाजलाई अनुमोदन गर्नुपर्ने , प्रक्रिया पूरा गरेका सबै सदस्यहरुको नवीकरण गरिनुपर्ने उनीहरुको भनाइ छ ।

यस्तै प्रत्यक्ष निर्वाचन प्रणालीबाट पार्सद छनौट गर्नुपर्ने र महासंघलाई राजनीतिक अखडा नबनाउन माग गर्दै १० दिन यता अनसन बसेकी पत्रकार महासंघकी केन्द्रिय पार्सद भावना विद्रोहीको स्वास्थ्य अवस्था बिग्रेपछि काठमाण्डौको नोवेल अस्पताल भर्ना गरिएको छ ।

विद्रोहीको रगतमा ग्लुकोजको कमी भएको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् ।