August 16, 2017

सप्तरीको एसइई परीक्षामा ६ सय ९ जना परीक्षार्थी अनुपस्थित

दिनेश शर्मा
राजविराज, ०६ चैत्र । एसईई (माध्यमिक शिक्षा परिक्षा) को तेश्रो दिन आईतबार भएको गणित विषयको परीक्षामा सप्तरीका ६ सय ९ जना विद्यार्थी अनुपस्थित भएका छन् ।

जिल्ला शिक्षा कार्यालय सप्तरीका अनुसार रेगुलरतर्फ छात्र १ सय ५५ र छात्रा १ सय ७९ गरी जम्मा ३ सय ३४, एक्ज्याम्टेडतर्फ छात्र ४५ र छात्रा ३८ गरी जम्मा ८३ परीक्षार्थी अनुपस्थित भएका थिए ।

त्यस्तै ग्रेड वृद्धितर्फ छात्र ९५ र छात्रा ९७ गरी जम्मा १ सय ९२ जना विद्यार्थी अनुपस्थित भएका हुन् ।

आईतबारको परीक्षामा अमर्यादित कार्य गरेको भन्दै वनरझुल्ला परीक्षा केन्द्रका कार्यालय सहयोगी रमेश यादवलाई कारबाही गरिएको छ ।

परीक्षामा चिट चोर्न सहयोग गरेको पाईएपछि उनलाई निस्कासन गरिएको जिल्ला शिक्षा अधिकारी दोलराज पाण्डेले जानकारी दिए ।

यसअघि बिहीवार परीक्षालाई अमर्यादित बनाएको पाइएपछि दौलतपुर परीक्षा केन्द्रका सहायक केन्द्राध्यक्ष उपेन्द्र प्रसाद चौधरी तथा निरीक्षकहरु कशेश्वर यादव र कृष्णदेव चौधरीलाई कारबाही गरिएको थियो ।

परीक्षा समन्वय समितिका संयोजक तथा सप्तरीका सिडिओ कृष्णवहादुर कटुवालले परीक्षा मर्यादा पुर्वक सम्पन्न भइरहेको बताउँदै अमर्यादित बनाउने र सहयोग गर्ने सवैलाई कारबाही गर्ने बताए ।

विभिन्न टोली सहित आफै परीक्षा अनुगमनमा खटेका कटुवालले परीक्षाको मर्यादा विपरीत कार्य गर्ने कसैले पनि उन्मुक्ति नपाउने ठोकुवा पनि गरे ।