October 23, 2017

सन् २०१७ मा नेपालको अार्थिक वृद्धि ५ दशालव २ देखि ६ दशमलव २ प्रतिशत रहने एडिबीको अनुमान

काठमाण्डौ, १५ चैत्र । एसियाली विकास बैंक (एडिबी)ले सन् २०१७ मा ५ दशालव २ देखि ६ दशमलव २ प्रतिशतको बीचमा मुलुकको आर्थिक वृद्धि हुने बताएको छ ।

मंगलबार काठमाडौमा पत्रकार सम्मेलन गरेर आर्थिक वर्ष २०७३/७४ मा कुल गार्हस्थ्य उत्पादन (जिडिपी) वृद्धिको अनुमान गरेको हो । मुद्रास्फीति सरकारी लक्ष्य भन्दा कम ६ प्रतिशतदेखि ६ दशमलव ५ प्रतिशतको बिचमा रहने अनुमान पनि बैंकले गरेको छ । कृषि उत्पादनमा भएको अधिक वृद्धि, आव २०७३/७४ का पछिल्ला दुई त्रैमासमा भूकम्पपछिको पुनः निर्माणले लिएको गतिबाट सिर्जित सम्भावना र लगानीको वातावरणमा आएको सुधारले अघिल्लो पटक आँकलन गरिए भन्दा आशालाग्दो आर्थिक परिदृश्य सुनिश्चित भएको बैंकले जनाएको छ ।

बैंकका देशीय निर्देशक केनिची योकोयामाले विप्रेषण आप्रवाहमा कमी र भारतमा ठूला मूल्यका नोटलाई गरिएको अमौद्रिकीकरणको सीमान्त असरले सेवा क्षेत्रका गतिविधिलाई सम्भाव्य स्तरभन्दा खुम्च्याउन सक्ने, सेवा क्षेत्रको प्रतिफल विगत दुई वर्षको भन्दा उच्च हुने अपेक्षा गरिएको बताएका छन् ।

बैंकका प्रमुख आर्थिक विश्लेषक शरद भण्डारीले चालु आवको प्रथम छ महिनासम्म पनि खर्चको कार्य सम्पादन उत्साहजनक नभएको, मासिक खर्चको प्रवृत्ति अघिल्ला वर्षको जस्तो देखिएको, वास्तविक खर्च योजना गरिएको भन्दा कम भएको वास्तविकता औँल्याउँदै बजेट कार्यान्वयनमा सरकार कमजोर रहेको बताए ।