October 24, 2017

सत्तारुढ दल र मधेसी मोर्चाबीचको छलफल सकरात्मक

काठमाण्डौ, १८ चैत्र । सीमांकनको विषयलाई आयोग बनाएर टुंग्याउने बिषयमा सत्तारुढ दल र मधेसी मोर्चाबीचको छलफल सकरात्मक भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसको बैठकमा संविधानको धारा २७४ को व्यवस्था परिवर्तन गर्ने बारेमा पनि छलफल भएको छ । संविधान संशोधन सम्बन्धी व्यवस्था रहेको यो धारामा प्रदेशको सीमांकन हेरफेर गर्दा प्रदेश सभाबाट बहुमत सदस्यले पारित गर्नु पर्ने व्यवस्था छ । त्यसलाई परिवर्तन गरेर प्रदेश सभाबाट पारित नगरे पनि प्रदेशको सिमाना परिवर्तन गर्न सकिने व्यवस्था गर्न सत्तारुढ दलले छलफल गरेका हुन् ।

बैठकमा प्रधानमन्त्रीले यसअघि नै प्रस्तुत गरेको संविधान संशोधनमा सिमाकंनको विषय पछि टुंगो लगाउने गरी अन्य विषयमा सहमति जुटाएर स्थानीय तहको निर्वाचनमा जुट्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

बैठकमा प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल र परामर्श गरी संविधान संशोधनको प्रस्ताव तयार पार्ने जिम्मा प्रधानमन्त्रीलाई दिइएको बैठकपछि नेताहरुले जानकारी दिएका छन् ।

संविधान संशोधन प्रस्तावमा उल्लेख भएका भाषा, अंगिकृत नागरिकता लगायतका विषयलाई पारित गर्नु पर्नेमा मोर्चाको प्रस्ताव छ ।