August 18, 2017

संविधान संसोधन विषय माथि छलफल गर्न एमाले सहमत

काठमाण्डौ, १२ फाल्गुन । व्यवस्थापिका संसदमा संविधान संसोधनमाथिको छलफल प्रक्रिया अघि बढाउन प्रमुख प्रतिपक्षी नेकपा एमाले सहमत भएको छ ।

सभामुख ओनसरी घर्तीसहित प्रमुख दलका शिर्ष नेताबिच सिंहदरबारमा बिहिबार भएको छलफलमा यस्तो सहमति भएको हो । गत मंसिर १४ गते संसद्मा दर्ता भएर पुस २४ गते संसद्मा टेबल भएको संविधान संशोधन प्रस्ताव अगाडि बढ्न सकेको छैन ।

छलफलमा सभामुख घर्तीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बिहान छलफल गरेर संसद् बैठकमा प्रक्रिया अगाडि बढाउन आग्रह गरेकी हुन् । फेल पास भन्दा पनि भोलिका दिनमा आपसी सहमतिमा अगाडि बढाउने तर प्रक्रिया नरोक्न दलहरुबिच सहमती भएको सभामुख घर्तीले बताएकी छन् ।

संसद्को बैठक मंगलरबार र बुधबार स्थगित भएको थियो । सभामुख घर्तीले संसद्को राज्य व्यवस्था परामर्श समितिमा छलफलमा रहेको राजनीतिक दलसम्बन्धी विधेयक अगाडि बढाउनसमेत दलहरुलाइ आग्रह गरेकी छन् । जवाफमा प्रधानमन्त्री दाहालले सरकारले तत्कालै विधेयक संसदमा लैजाने बताए ।

थ्रेसहोल्डका विषयमा दलहरुबीच मतभेद कायम रहेकाले राजनीतिक दलसम्बन्धी विधेयक समितिबाट पारित हुन सकेको छैन ।