June 27, 2017

संविधान संशोधन विधेयक अगाडि बढाउने

काठमाण्डौ, ११ फाल्गुन । सरकारले आजबाट संविधान संशोधनसम्बन्धी विधेयक प्रक्रिया अगाडि बढाउने भएको छ ।

सरकार मधेशी मोर्चालाई मनाउने उद्धेश्यसहित विधेयक अगाडि बढाउने निश्कर्षमा पुगेको हो । विधेयकलाई कार्यसूचीमा राख्ने वा नराख्ने बिषयमा दलहरुबीच सहमति हुन नसकेपछि १६ दिनपछि मंगलबारका लागि बोलाईएको संसद बैठक सूचना टाँसेर बुधबार २ बजेसम्मका लागि स्थगित गरिएको थियो ।

विधेयकसम्बन्धी प्रक्रिया संसदमा अगाडि बढाए मधेशी मोर्चा समेत निर्वाचनमा सहभागी हुने आंकलन सरकारको छ । विधेयक पारितका लागि संसदमा कायम सदस्य संख्याको दुई तिहाई अर्थात ३ सय ९६ मत आवश्यक पर्ने छ ।

दलीय गठबन्धनका आधारमा आवश्यक मत संख्या नपुग्ने भएपनि सरकारले भने विधेयक अगाडि बढाउने भएको हो ।

त्यस्तै ९ दलीय प्रतिपक्षी मोर्चाको बैठक आज बस्दैछ । सरकारले संविधान संशोधन विधेयक आजबाट प्रक्रियामा लैजाने बताएपछि थप धारणा बनाउन एमाले सहितको प्रतिपक्षी मोर्चाको बैठक बस्न लागेको हो ।

बैठकले विधेयकको बिरोधमा संसदमा जारी आन्दोलनको कार्यक्रम तय गर्ने छ ।