संविधान संशोधन प्रस्ताव पारित हुनेमा कानूनमन्त्री विश्वस्त

काठमाण्डौ, २९ चैत्र । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयशंकर नायकले सरकारले ल्याएको नयाँ संविधान संशोधन प्रस्ताव पारित भएरै छाड्ने दाबी गरेका छन् ।

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री नायकले नयाँ संशोधन प्रस्ताव एमाले र मधेशी मोर्चा दुबैको सहमतिमा ल्याइएको भन्दै पारित हुने विश्वास व्यक्त गरेका हुन् ।

उनले अहिले मुलुक निर्वाचनको दिशामा अघि बढिसकेकोले सबै दललाई निर्वाचनमा सहभागी गराउनको लागि पनि सरकारले अधिकतम प्रयास गरिरहेको जनाए ।

उनले संशोधनको ड्राफ्ट विज्ञहरुले तयार पारेकोले विधेयकमा उल्लेख भएका विषयका शब्दहरुमा भने पछि छलफलका क्रममा सच्याउन सकिने विश्वास दिलाए ।

साक्षात्कारमा मधेशी मोर्चाका नेता लक्ष्मणलाल कर्णले संसोधन प्रस्ताव दर्ता भएपछि मात्र आधिकारिक धारणा भोली सार्वजनिक गर्ने उल्लेख गरे ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता रघुवीर महासेठले अहिले सरकारले ल्याएको नयाँ संशोधन विधेयक हिजोको भन्दा पनि बढि खतरानक रहेको आरोप लगाए ।