August 17, 2017

संविधान संशोधन गरेर मात्र निर्वाचनमा जान उपयुक्त हुने संयोजक भट्टराईको जोड

दिनेश शर्मा /राजविराज, ०४ वैशाख । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले तराई मधेशका ५२ प्रतिशत जनतालाई पाखा लगाउने चुनावको कुनै अर्थ नहुने भन्दै मधेशको माग सम्बोधन नभएसम्म चुनाव असम्भव हुने दाबी गरेका छन् ।

सप्तरीको विसनपुरमा सोमबार आयोजित जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता भट्टराईले मधेशी, जनजाति, थारु लगायत सीमान्तकृत वर्गको माग सम्बोधन नगरे चुनाव हुनै नसक्ने बताएका हुन् ।

संविधान संशोधन गरेर तराई मधेशको माग सम्बोधन गर्नुको विकल्प नरहेको भट्टराईको जिकिर छ । मधेशी मेर्चाको आन्दोलनप्रति आफ्नो पार्टीको समर्थन रहेको बताउँदै उनले आन्दोलन बिना शान्तिपुर्ण रुपमा संविधान संशोधन गर्ने आफूहरुको इच्छा सरकारले पूरा नगरेपछि बाध्य भएर आन्दोलनको पक्षधर बन्नु परेको आरोप समेत लगाए ।

काँङ्ग्रेस, एमाले पहिलादेखि नै जनतालाई अधिकार दिने सवालमा विरोधी कित्तामा रहे पनि जनताले भरोसा गरेका प्रचण्ड पनि सोही कित्तामा पुगेपछि बाध्य भएर आन्दोलन रोज्नु परेको उनले बताए ।

उनले नयाँ शक्तिलाई चुवान चिह्न नदिने निर्णय षड्यन्त्र भएको आरोप लगाए । कुन दल ठूलो र कुन दल सानो भन्ने कुरा निर्वाचनले पुष्टि गर्ने भन्दै उनले पुरानो संविधानसभा निर्वाचनको दुई दिहाई देखाएर आफूलाई ठूलो पार्टीको दर्जा दिनु तर्क संगत नहुने भट्टराईको भनाइ छ ।

सो अवसरमा विभिन्न पार्टी परित्याग गरी नयाँ शक्तिमा प्रवेश गरेका करिब डेढ सय जनालाई संयोजक भट्टराईले अबिर माला लगाई पार्टी प्रवेश गराएका थिए ।