संविधान संशोधनको सम्भावना टर्‍योः रायमाझी

काठमाडौं, ३ चैत । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले यथास्थितिमा संविधान संशोधन सम्भव नरहेको स्पष्ट पारेका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता रायमाझीले मधेशी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै हाललाई संविधान संशोधन टरेको बताएका हुन् ।

नेता रायमाझीले  भने, ‘मोर्चाको हातमा जतिबेला ताला चाबी थियो, त्यति बेला उहाँहरूले अधिकारको ढोका खोल्नु भएन, आज त्यो चाबी कमल थापा र विजय गच्छदारको हातमा पुगिसक्यो, यस्तो स्थितिमा संशोधन झनै सम्भव छैन् ।’

उनले फरक प्रसङ्गमा धेरै नेता साथीहरूले स्थानीय निकायको निर्वाचन गरौँ भन्ने धारणा राखेको र आफूले जहिले पनि स्थानीय तहको वकालत गर्दै आएको बताए ।