संविधान फेल हुने सम्भावना प्रबलः उपेन्द्र यादव

दिनेश शर्मा/ राजविराज, १३ चैत्र । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस, एमाले र माओवादीको क्रियाकलापले वर्तमान संविधान फेल हुने सम्भावना बढाएको बताएका छन् ।

नेकपा एमालेको मेची–महाकाली राष्ट्रिय अभियानका क्रममा गत फागुन २३ गते प्रहरीसँगको झडपमा ज्यान गुमाएका ५ जनाको सम्मानमा आईतबार गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै उनले यस्तो बताएका हुन् ।

तीन दलको सेण्डिकेटद्वारा जारी गरिएको त्रुटिपुर्ण संविधान संशोधन गरी मधेश, आदीवासी जनजाती, दलित, अल्पसंख्यक र सिमान्तकृत वर्गको अधिकार स्थापित नगरेसम्म संविधान कार्यान्वयन हुन नसक्ने र जनताले नै त्यसलाई खारेज गरी नयाँ संविधान निर्माणको प्रक्रिया अघि बढ्ने उनको कथन छ ।

मुलुकभर हालसम्म भएका अधिकार प्राप्तिका आन्दोलन मथ्थर पार्न सरकारले सम्झौता गर्दै जाने तर कार्यान्वयन नगर्ने श्रृंखलाले विस्वासको वातावरण नै समाप्त भएको बताउँदै यादवले सम्झौताको डंगुर लगाउनु भन्दा संविधान संशोधन गरी विश्वासको वातावरण तयार गर्न सरकार र ठुला दलहरुलाई आग्रह समेत गरे ।

स्थानीय तहको निर्वाचनलाई नाटक र षडयन्त्रको संज्ञा दिदै उनले संविधान कार्यान्वयन गराउने भए प्रदेश अथवा संसदको निर्वाचन गराउन माग गरे ।

कार्यक्रममा तराई मधेश लोकतान्त्रीक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष सरदसिंह भण्डारी, मधेशी जनअधिकार फोरम गणतान्त्रीकका अध्यक्ष राजकिशोर यादवले आफ्नो विचार राखेका थिए ।

त्यस्तै तराई मधेश सदभावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव, नेपाल सदभावना पार्टीका अध्यक्ष अनिलकुमार झा, संघिय लिम्वुवान नेपालका कुमार लिङ्देन, ताम्सालिङ्ग संघर्ष समितिका जय गोले तामाङ्ग, सेर्पा स्वायत्त प्रदेश संघर्ष समितिका लाक्पा सेर्पा लगायतले सम्बोधन गरेका थिए ।

कार्यक्रममा फागुन २३ गते एमालेको अभियानका क्रममा प्रहरीसँग भएको मुडभेडमा ज्यान गुमाएका ५ जनाको परिवारलाई सम्मान गरिएको थियो ।

घटनामा मलेठ–२ का २६ वर्षिय सञ्जन मेहता, ३७ वर्षिय विरेन्द्र महतो, मलेठ–४ का ५० वर्षिय पीताम्बर मण्डल र प्रसवनी–४ टेङ्गरीका ३८ वर्षिय सिनियर अहेव आनन्द कुमार साह, र जमुनी मधेपुरा–१ कौटवीका ५७ वर्षिय ईन्द्रदेव यादवले ज्यान गुमाएका थिए ।