September 25, 2017

संघ र प्रदेशको निर्वाचनले देशमा स्थायित्व प्राप्त : प्रधानमन्त्री

दिलीप खत्री/खोटाङ, ३१ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले संघ र प्रदेशको निर्वाचनपछि देशले स्थायित्व पाउने बताएका छन ।

शनिबार खोटाङको बाराहापोखरी गाउँपालिका–२ सुन्तले र उदयपुरको त्रियुगा नगरपालिका–१४ साउने जोड्ने धाप्लाङस्थित सुनकोसीमा मोटरेवल पक्की पुल शिलान्यास गर्दै प्रधानममन्त्री देउवाले केही समयपछि हुने संघ र प्रदेशको निर्वाचनपछि मात्र देशले स्थायित्व पाउने र विकासले अपेक्षित गती लिने बताए

‘संघ र प्रदेशसभाको चुनाव सकिएपछि देशले स्थायित्व पाउने बाटो खुल्नेछ,’ हेलीकोप्टरबाट धाप्लाङघाट ओर्लिएका प्रधानमन्त्री देउवाले भने, ‘दुवै निर्वाचनपछि संविधानलाई संशोधन गरेर देशको विकासमा लाग्नु पर्ने बेला आएको छ ।’

उनले धाप्लाङघाटको पुल निर्माण भएपछि खोटाङको आर्थिक र भौतिक विकासले गति लिने बताए । पुल निर्माणसँगै जिल्लाको भाग्य र भविष्य निर्माण हुने बताउदै देउवाले पुललाई समयमा पुरा गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिए । प्रधानमन्त्री देउवाले ठेकदारका कारण पुलमा कुनै खालको ढिलासुस्ती भएमा सह्य नहुने बताए ।

शिलान्यास कार्यक्रममा प्रधानमन्त्री देउवासंग भौतिक पूर्वाधार तथा यातायात मन्त्री बीरवहादुर वलायर र कांग्रेस नेता डा. नारायण खड्का पनिअाएका थिए ।

२२ करोड ५ लाख रुपैयाकाे लागतमा बन्ने उक्त पसल २ सय मिटर लम्बाई र साँढे १० मिटर चौंडाई हुनेछ ।  २०७३ साल असोजमा सम्झौता भएको उक्त पुल २०७६ साल असारभित्रमा पूरा गर्नेगरी निर्माण कम्पनी स्वच्छन्दले जिम्मा लिएको हो ।

धाप्लाङघाटमा खोटाङ र उदयपुरतर्फ वर्षौँअघि सडक बनेको भएपनि हालसम्म पुल नहुँदा झोलुंगे पुल प्रयोग हुँदैआएको छ । धाप्लाङमा पक्की पुल बन्ने भएपछि स्थानीय खुसी भएका छन् । पुल बनेपछि खोटाङको दक्षिणी क्षेत्रका २२ वडा तथा भोजपुरका केही वडाका स्थानीयलाई तराई जाने र आउने छोटो र सिधा वाटो खुल्नेछ ।